तनहुँ ।
गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा राष्ट्रियस्तरको साहित्यसम्मेलन हुने भएको छ । साहित्यको संरक्षण, प्रवद्र्धन र व्यासभूमि दमौलीको प्रचार–प्रसार गर्ने उद्देश्यसहित वाङ्मय प्रतिष्ठानले राष्ट्रियस्तरको साहित्य सम्मेलन गर्न लागेको हो । आगामी जेठ २६ र २७ गते साहित्यसम्मेलन तथा कविता प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार उक्त कार्यक्रममा प्रथम हुनेलाई रु ५५ हजार, द्वितीय हुनेलाई रु ४० हजार र तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुने छ जनालाई जनही रु १० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
‘साहित्य सम्मेलनमा सहभागी हुनआउनेलाई व्यासभूमिको भ्रमण पनि गराउँछौँ, यसले गर्दा व्यासभूमिको प्रचार–प्रसारमा सहयोग पुग्छ’, अधिकारीले भने । व्यासको जन्म दमौलीमा भएको विभिन्न तथ्यले प्रमाणित गरे पनि प्रचार–प्रसार नहुँदा व्यासभूमि ओझेलमा पर्दै आएको अधिकारीले बताए । साहित्य सम्मेलनलाई सफल बनाउन प्रतिष्ठानले प्रचार–प्रसारको कामलाई अन्तिम चरणमा पु¥याएको छ । उनले भने, ‘साहित्य सम्मेलनलाई सभ्य र भव्यरूपमा सम्पन्न गराउन विभिन्न स्थानीय तहसँग आर्थिक सहयोग माग गरेका छौँ । स्थानीय तहबाट सहयोगको प्रतिबद्धता आएको छ ।’ प्रतिष्ठानले हरेक महिना काव्यवाचनसँगै जिल्लाका विभिन्न ठाउँमा पुगेर साहित्यकारहरूले रचनावाचन गर्दै आइरहेका छन् ।