• २०८२ चैत्र २९, आईतवार

दोस्रो फाल्गुनन्द साहित्य महोत्सव २०८२ सम्पन्न

पाँचथर ।

दोस्रो फाल्गुनन्द साहित्य महोत्सव २०८२ सम्पन्न भएको छ । फाल्गुनन्द गाउँपालिका १ नवमीडाँडास्थित तिजोक बहुसाँस्कृतिक पार्कमा आयोजित महोत्सवका अवसरमा दुईजना विशिष्ट स्रष्टालाई सम्मान समेत गरिएको छ ।
महोत्सवमा ‘फाल्गुनन्द प्रज्ञा साहित्य पुरस्कार’ कवि, गीतकार, लेखक तथा चलचित्र निर्देशक उपेन्द्र सुब्बालाई प्रदान गरिएको छ भने ‘फाल्गुनन्द प्रज्ञा मातृभाषा पुरस्कार’ लिम्बू मातृभाषाका अभियन्ता, कवि तथा राजनीतिज्ञ वीर नेम्बाङलाई प्रदान गरिएको छ । महोत्सवमा फाल्गुनन्द गाउँपालिकाको सहयोग र फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको हो ।

महोत्सवमा डा. मधुराज केरुङले ‘फाल्गुनन्द गाउँपालिकाभित्रका साहित्यकारहरू र तिनका योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने साहित्यकार प्रेम ओझाले ‘फाल्गुनन्द गाउँपालिकाभित्रका पर्यटन सम्भावना र चुनौतीहरू’ विषयमा प्रस्तुति दिएका थिए । त्यस्तै, मानवशास्त्री दिलविक्रम आङ्देम्बेले ‘मुक्कुहाङको मिथकसँग सम्बन्धित स्थान नामहरू निबुखोलादेखि सुकेपोखरीसम्म’ विषयमा सम्भाषण प्रस्तुत गरेका थिए । यसैबीच कवि गजेन्द्र सोजे राईद्वारा लिखित कविता संग्रह ‘नलेखिएको तमसुक’ को विमोचन गरिएको थियो ।

तिजोक बहुसाँस्कृतिक पार्क व्यवस्थापन समितिका अध्यक्ष राजकुमार आङ्देम्बे (राज दिलाञ्ली) का अनुसार अलवेद  सडक, विद्युत, खानेपानी तथा सोलार ग्रिडको आवश्यकता रहेको बताए ।