• २०८२ चैत्र २५, बुधबार

गौरी स्रष्टा सम्मान पुरस्कार’ निबन्धकार तथा समालोचक गुरुङ सुशान्तलाई

काठमाडौं ।

‘गौरी स्रष्टा सम्मान पुरस्कार’ निबन्धकार तथा समालोचक गुरुङ सुशान्तलाई प्रदान गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा शनिबार आयोजित गुरुङ साहित्यिक मञ्चको नवौं स्थापना दिवसको अवसरमा सुशान्तलाई फेटा लगाइ नगद ३५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो । रसुवामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आउनुभएको सुशान्तले साहित्य र लेखन क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै पुरस्कृत गरिएको मञ्चले जनाएको छ ।

सुशान्तलाई मञ्चका अध्यक्ष तेजबहादुर गुरुङ, पुरस्कारका संस्थापक तथा मञ्चका संस्थापक अध्यक्ष गौरी गुरुङ (गौरीसरा), तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय अध्यक्ष धनमान गुरुङलगायतले संयुक्तरुमा पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

मञ्चका महासचिव सम्राट गुरुङका अनुसार मञ्चले लेखन तथा साहित्य क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएको एकजना स्रष्टालाई प्रत्येक दुई वर्षमा सम्मान गर्दै आएको छ । यसअघि कवि छम गुरुङ, लेखक तीर्थ गुरुङ र कवि चन्द्र गुरुङलाई उक्त पुरस्कारबाट सम्मान गरिसकिएको छ ।

पुरस्कारका संस्थापक गौरी गुरुङले आफ्नो प्रथम कृति ‘समै दर्बानी’ को बिक्रीबाट संकलित रकम तथा विभिन्न पुरस्कारबाट प्राप्त नगद जोडेर सुरुमा १ लाख ५५ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो । पछि उक्त कोषलाई विस्तार गर्दै ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पु¥याइएको र कोषको ब्याजले स्रष्टालाई पुरस्कारसहित सम्मान गरिँदै आएको मञ्चले जनाएको छ ।