• २०८२ चैत्र २५, बुधबार

योगेन्द्र तिमिल्सिनाको ‘बोकेदाह्री’ लोकार्पण सम्पन्न

काठमाडौं ।

साहित्यकार योगेन्द्र तिमिल्सिनाको लघुकथासङ्ग्रह ‘बोकेदाह्री’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । २०८२ चैत २१ गते पुतलीसडकस्थित ग्रीनलिफ रेस्टुरेन्टमा आयोजित कार्यक्रममा उक्त कृतिको औपचारिक विमोचन गरिएको हो ।

समारोहमा समीक्षकद्वय प्रा. डा. भरतप्रसाद भट्टराई र महेश प्रसाईंले कृतिमा समेटिएको लघुकथामाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो । प्रा. डा. भट्टराईले ४० वटा लघुकथालाई विषयगत रूपमा वर्गीकरण गर्दै मानवीय संवेदना, समकालीन राजनीति, अन्धविश्वास तथा सामाजिक–सांस्कृतिक विचलनजस्ता पक्षहरूमा केन्द्रित रहेको उल्लेख गर्नुभयो । महेश प्रसाईंले तिमिल्सिनाको दीर्घ साहित्यिक यात्रालाई स्मरण गर्दै कृतिको साहित्यिक महत्त्वमाथि प्रकाश पार्नुभयो ।

कार्यक्रममा विशेष अतिथि लघुकथाकार ध्रुव मधिकर्मीले लेखकको कथालेखनको पृष्ठभूमि उल्लेख गर्दै केही प्रतिनिधि लघुकथामाथि चर्चा गर्नुभएको थियो । त्यस्तै लघुकथा समाजका सचिव तथा मधुपर्क मासिकका सम्पादक तुलसीहरि कोइरालाले लघुकथाको ऐतिहासिक विकास र यसको बढ्दो लोकप्रियताबारे धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा लघुकथाकार तिमिल्सिनाले आफ्नो चर्चित लघुकथा ‘मान्छे’ वाचन गर्नुभएको थियो । उहाँले सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा भीष्म उप्रेती, विमल भौकाजी, सुधा भट्टराई, जसध्वज गुरुङ, गङ्गाप्रसाद भेटवाल, त्रिचन्द्र श्रेष्ठ, आनन्द पौड्याल, प्रवीण जोशी, कृष्ण न्यौपाने, हेमन्त गौतम, सञ्जय श्रेष्ठलगायत साहित्यकारहरूको उपस्थिति रहेको थियो । ओरिएण्टल पब्लिकेशनका श्रीहरि गौतमले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता डा. तुलसी भट्टराईले गर्नुभएको थियो । समापनका क्रममा उहाँले लेखकसँगको दीर्घ साहित्यिक सम्बन्ध स्मरण गर्दै तिमिल्सिनालाई आगामी सिर्जनात्मक यात्राका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।