समाचार
काठमाडौँ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर ‘साकुराको फेदमुनी’ साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम चिबा केनको इचिगावा स्टेशन नजिक रहेको साकुरा चचुमी पार्कमा आयोजना गरिएको थियो । कार्यक्रममा अनेसास जापानका अध्यक्ष आनन्द अधिकारीको सभाध्यक्षता रहेको थियो भने साकुराको रुखलाई नै प्रतीकात्मक रूपमा प्रमुख अतिथिका रूपमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गायक तथा संगीतकार रामकृष्ण बम मल्लले मन्तव्य राख्दै साहित्यिक गतिविधिसँगै नेपाली भाषाको शुद्धतामा ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै, गायक सूर्य खड्का र समुद्रराज पौडेलले सांगीतिक प्रस्तुति दिँदै कार्यक्रमलाई आकर्षक बनाउनुभएको थियो । कार्यक्रममा डा. कुमार बस्नेत, प्रकाश पौडेल ‘माइला’, विष्णु प्रसाद घिमिरे, दीप पाठक, गिरिजा गैह्रे, रविन शर्मा, अरूण पौडेल, रविन्द्र गोर्खाली, गृष्मा पौड्याल, मञ्जु गिरी, डिजी शर्मा, सुजन बैरागी, लक्ष्मण भन्तना शिरीष, निरज पाण्डे, नविन कँडेल, जमुना रेग्मी, दिपेश गिरी, अप्सरा सुनार, शारदा पाण्डे, सुजता शर्मा, विष्णु सुवेदी, विश्वबन्धु भण्डारी, प्रिजम न्यौपाने, सुवास पोख्रेल, विनोद सापकोटा, सविना रेग्मी, लक्ष्मी पौडेल, दीपा घिमिरेलगायत स्रष्टाहरूले आफ्ना रचना वाचन गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको संयोजन अनेसास जापानका सचिव यमलाल कँडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य सह–कोषाध्यक्ष सरिता चौधरीले व्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालन महासचिव मनोज मौसम केसीले गर्नुभएको थियो । झण्डै सय जनाको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले घरबाट ल्याइएका परिकारहरू साकुराको फेदमा बसेर सँगै ग्रहण गर्दै आत्मीय वातावरण सृजना गर्नुभएको थियो । अन्त्यमा मादलको तालमा नाचगानसमेत गरिएको थियो । प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित कार्यक्रमले सांस्कृतिक एकता र आत्मीयताको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।
