• २०८२ चैत्र २४, मंगलवार

‘सन्धिकाल सामाजिक परिवर्तनका आधारभूमि’ पुस्तक लोकार्पण

काठमाडौँ ।

नेपालमा प्रजातन्त्र आगमनको कथा भन्ने पुस्तक ‘सन्धिकाल सामाजिक परिवर्तनका आधारभूमि’ लोकार्पण गरिएको छ । समाजशास्त्री लोकरञ्जन पराजुलीको ‘सन्धिकाल’ शनिबार बिहान नेपालयको आरशालामा विमोचन गरिएको हो । लेखक लोकरञ्जन पराजुलीले आफ्नो पुस्तक महेशराज पन्त, जेनजी अभियन्ता रक्षा बम र समाजविज्ञानका विद्यार्थी यादव अर्याललाई उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो ।

पुस्तक ‘सन्धिकाल’ लोकार्पण गर्दै लेखक पराजुलीले वि.सं २००७ को परिवर्तन आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो टर्निङ पोइन्ट भएको बताए । ’’२००७ पछि रैतीहरूलाई सार्वभौम नागरिकका रुपमा स्वीकार गरियो । बोल्न, पढ्न, लेख्न, छाप्न तथा संगठित हुन पाइने स्वतन्त्र वातावरण बन्यो,’ लेखक पराजुलीले भने, ‘सात सालले भुइँ तहसम्म ठूलो उत्साह ल्यायो । सामाजिक संघ–संगठन, मिडिया, स्कूल, कलेज, पुस्तकालय आदि क्षेत्रमा त उथलपुथल नै ल्यायो ।’’

राणा शासन विरोधी आन्दोलनको व्याख्या गर्ने क्रममा सामाजिक, साहित्यिक, रेडियो, शिक्षा, सिनेमाहरुको योगदानबारे चर्चा नगरिएको लेखक लोकरञ्जन पराजुलीले बताए । ’’रुख ढल्नुमा जसरी बन्चरोको अन्तिम प्रहारको मात्र योगदान हुँदैन, उसरी नै कुनै पनि परिवर्तन देखिएको अन्तिम कारणले मात्र भएको हुँदैन,’’ लेखक पराजुलीले भने, ’’परिवर्तनमा कवि, कलाकार, सिनेमा हल, रेडियो, पत्रपत्रिका आदि धेरैको भूमिका हुन्छ । मैले त्यही आधारभूमि सन्धिकालमा खोतलेको छु ।’’

२००७ फागुन ७ गते प्रजातन्त्र आए पनि त्यसको आधार अलि पहिलेदेखि नै तयार हुँदै गएको लेखक पराजुलीको भनाइ छ । उनको अध्ययनमा चार सालदेखि सात सालबीचको समय सन्धिकाल हो । नेपालले ७५ वर्ष पहिले हिँडेको प्रजातान्त्रिक बाटोको कथा ‘सन्धिकाल’ पुस्तकमा समेटिएको पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले बताए ।