गीत
घुम्न जाने भन्नेबित्तिकै मेरो मनमा एक किसिमको रोमान्चकता पैदा हुन्छ । मलाई लाग्छ अस्तव्यस्त जिन्दगीबाट अलिकति समय निकालेर घुमिएको थोरै अनूभूतिले पनि ठूलै उर्जाको काम गर्ने गर्छ जिन्दगीका अप्ठ्यारा घुम्तीहरूमा । त्यसैले त घुम्नुको मज्जा बेग्लै छ जीवनमा । अझ एक्लै घुम्नु र साथीहरूसँग जमातै भएर घुम्नुमा पनि फरक छ नि ! अरूले कुन चाहि जाती मान्छन होला कुन्नि ? मलाई त पूरै जत्था भएर घुम्न मैं बढो आन्नद लाग्छ ।
क्यानडाको बसाई वेफुर्सदी दिनचर्यामा कुदिरहेका हामीलाई मेरा बा, आमाको क्यानडा भ्रमणले पनि गज्जबको मौका जुराइदियो घुम्नकै लागि । जानेजाने भन्दा भन्दै पुग्न नभ्याईएको क्यानाडाकै एतिहासिक र प्राकृतिक छटाले भरिपूर्ण सहर क्युबेकको दृश्य अवलोकन गर्ने दिन तोकियो जुलाई अठार सन् २०१९ । यसमा साथ दिए हाम्रो परिवारलाई अर्को तीन परिवारले । केटाकेटी र बूढाबुढी गरेर चौंधजनाको ठूलै डफ्फा तयारी भयो घुम्न जाने ।
मलाई घुम्न जान धेरै रमाइलो लाग्छ तर त्यसभन्दा पहिला मिलाउनु पर्ने चाँजोपाँजो भने एक किसिमको झन्झटिलो अनुभव गर्छु जहिले पनि । अझ त्यसमाथि यत्रो ठूलो जमातको यात्रा ? सहज हुने त कुरै भएन । तर भन्छन् नि, “जाँहा इच्छा त्यहाँ उपाय“,। भयो त्यस्तै, समूहकी हितैषी साथी सुनिधि योञ्जनले मेरो टाउको दुखाईलाई सम्पूर्ण बन्दोबस्तको जिम्मेवारी लिएर हल्का पारिदिईन ।
वास्तवमै भन्नुपर्दा महिनौं पहिलादेखिको हाम्रो चुरीफुरी, उत्साह र जाँगर सम्झन लायकको नै थियो । घुम्न जाने कुराले मन त्यसै–त्यसै फुरुङ्ग भएको थियो । यसलाई महिनादिन अघिदेखि म्यासेन्जरमा खोलिएको क्युबेक भ्रमणको समूहले अझ मलजल हालिदिने काम गरेको थियो । म्यासेन्जरमा समाचारको झिल्लिक्क सूचना आउने बित्तिकै पिल्लिकै आँखा गइहाल्थे मुबाइलमा । जाने ठाउँका फोटा र खानेकुराका लिस्टले पूरै म्यासेन्जर नै भरिभराउ हुन्थ्यो ! मन खुसीले समालि नस्क्नुको बनेको थियो । भुरा त भुरा नै भइहाले दसबित्ता उफ्रिएका थिए घुम्न जाने दिन निक्र्यौल हुँदाको बखत नै । दिनै पिच्छे क्यालेण्डरमा टिको लगाउदैं घुम्न जाने दिनको प्रतीक्षा गर्दै थिए उनीहरू । नगरेर के गरून र उनीहरु पनि निस्सासिसकेका थिए घर बस्दा बस्दा । कहालीलाग्दो हिंउको सिरेटो र कष्टकर लामो जाडो महिनाले एक किसिमले दिक्कदार भएका थिए उनीहरू पनि ।
आखिर गर्मी मै त हो नि अलिकति छुट्टि पाउने भनेको क्यानडामा, नत्र जहिले घरमै कोचिएर बस्नु पर्ने बाध्यता । रमाइलै रमाइलो कै बिच वबुप्रतिक्षित जुलाई अठार पनि आयो । अघिल्लो दिन नै छोरीहरूलाई हामीले जिस्क्याएर भनेका थियौं भोलि बिहानै पाँच बजे उठेनौं भने त हामी छोडेर जान्छौं है तिमीहरूलाई । छोरीहरूले त यो कुरोलाई साच्चै सम्झिएछन् कि क्या हो उनीहरू त भोलिपल्ट चार बजे नै उठेर हामीलाई छक्कै पारिदिए । गाडीमा पाँचजनाभन्दा बढी बस्न नपाइने यहाँको नियम । हामी हाम्रा परिवारमा आमा बा सहित छ जना थियौं। म कसको गाडीमा जाने होला भन्ने चिन्ताको समाधान गरिदिनुभयो टोमेन्द्र सुवेदी सरले । मलाई आफ्नो गाडीमा लैजान टोमेन्द्र सुवेदी सरको गाडी घरै अगाडि आएर रोकियो । विहानको साढे पाँचतिर । संगै हुनुहुन्थ्यो उहाँकी जीवन संगिनी साथी देवकी सुबेदी पनि उहाँका केटाकेटी पनि । उहाँहरुकै गाडीमा बसेर हाम्रो घरबाट करिब नौं घण्टा अर्थात नौंसय किलोमिटरको दुरीको क्युबेक यात्रातिर लागियो ।
पूर्वतिरको भर्खर उदाउदै गरेको सूर्यको किरणले छपक्कै छोपेको थियो हामीलाई । मोबाइलमा उदाउदो सूर्यको किरणको फोटो खिच्नमा व्यस्तता बढ्दो थियो मेरो । त्यसमाथि गाडीमा गीत बजिरहेको थियो अरूण थापाको ऋतुहरूमा तिमी हरियाली वसन्त हौँ । बाहिरको हरियाली वातावरण र गीतको समायोजनले मन एक किसिमको आन्न्नदमा डुबुल्ल्की मारिरहेको थियो । चारवटा गाडीमा छरिएर भिन्नाभिन्नै कुदिरहेका थियौँ हामी । साढे दुई घन्टाको दुरीको अन रुट (राजमार्गमा कुदिरहेका हाम्रो विश्राम गरेर, खाजा पानी खाने, दिसा पिसाव गर्ने ठाउँ) मा भेट्ने सहल्ला थियो । त्यसै बमोजिम सबै त्यहि ठाउँमा जम्मा भइयो । एकछिनको विश्रामपछि हाम्रो यात्रा पुन अगाडि बढ्यो ।
गाडी तीव्र रूपमै कुदिरहेको थियो । हामी पनि बाटामा देखिने प्राकृतिक छटाहरूसँग रमाइरहेका थियौं । त्यहाँबाट हिंडेको दुई घण्टा पछि जी ,पि ,एस की मैयाले हाम्रो गाडीलाई राजमार्गबाट छुट्टिने निर्देशन दिईन । उनको आज्ञा त शिरोपर गर्नै पर्यो । टोमेन्द्र सरले बिस्तारै गाडीलाई मोड्नु भयो क्यानडाको एतिहासिक सहर किङ्ग्स्टनतिर। हामीभन्दा पहिला हाम्रो गाडीमा रहेका हाम्रो परिवार, रवीन्द्र सर अनि महेश्वर सरको परिवारले हामीलाई कुरिरहेको रहेछ । हाम्रो टोली बाटोमा नेटवर्कको कारणले सम्पर्कविहिन भएकाले उहाँहरूलाई केही दुखी पनि बनाएको रहेछ । हामी पुगेपछि सबैको मुहार हँसिलो देखियो । नीलो विशाल अन्टारियो तालको किनार, नदीको किनारैमा चारैतिर हरियो दुबोले सजाइएको ठूलो सुन्दर पार्क । त्यहि सुन्दर चौरको रूखको छहारीमा बसेर बिहान आ– आफ्नै घरबाट लगेका खानेकुराहरू अत्यत मीठो मानेर सबैजनाले बाँढेर खायौं ।
आज रातिको बास बस्ने लक्ष्य क्युबेक प्रान्तकै अर्को सहर मन्टेरियलमा थियो । जसका लागि अझै साढे तीन घण्टाको दुरी १२० प्रतिघण्टाका दरले गाडी कुदाउनु पर्ने थियो । बासको लागि भने केही चिन्ता थिएन । साथी सुनिधि र उनका श्रीमान् रबिन्द्रले पहिल्यै दुई दिनलाई एउटा घर रिजर्भ गरिसकेका थिए । क्यानडाका सडकहरू ठूला ठूला फाँटमा बनेका सिधा छन् । सडकका दायाँ बायाँ देखिने हरियाली, सेतो बादल भित्रको नीलो आकाशको मनोमोहक दृश्य अनि, बाटा वरिपरिका ठूला ठूला फार्महरूले झन हाम्रो यात्रामा रौनकता थपिदिएको थियो ।
किङ्ग्स्टनमा लेक अन्टारियोको कन्चन सौन्दर्यको रसस्वादन गरिसकेपछि त्यहि नजिकैको ढिस्को मास्तिर रहेको फोर्ट हेनेरी नेसनल साइट हेर्न गइयो । जुन सन् १८१२ ताका युद्दका सामग्री राख्न प्रयोग गरिन्थ्यो । डाँडामा पुगेपछि किङ्ग्स्टन सहर अझ आकर्षक देखिन्थ्यो भने ओन्टारियो ताल अझ रुपवान। त्यो साइटको बाहिरबाटै धेरै कुरा नियालियो । जसरी नै आज नै मनटेरियल पुग्नु पर्ने भएकाले भित्र पसेर धेरै कुरा हेर्न सकिएन । बेलुकाको छ बजेतिर हामी मनटेरियल पुग्यौं । हामीले दुई दिनलाई लिएको घर कस्तो होला ? केटाकेटीहरू त्यो घर पुग्न निकै उत्सुक देखिन्थे भने हामी ठूलालाई पनि लागि रहेको थियो यत्रो पन्ध्र जनाको जत्थालाई सुत्न मिल्ने ठाउँ होला त ? तर त्यहाँ पुगेर हेर्दा त हामी छक्क पर्यौं । पूरै एउटा बेस्मेंट सहितको घर पो रहेछ। सुत्नलाई पनि व्यवस्थित गरेर राखिएको बिस्तारा । छुट्टै भान्छा कोठा कफी बनाउने भाँडोदेखि सबै कुरोको व्यवस्ता ।
नुहाई धुवाई गरिसकेपछि हामी महिला पाटी म, सुनिधि देवकी म्याम र अमृता म्याम बेलुकाको खाना बनाउने तयारी गर्न जुट्यौँ । पुरुषवर्ग हामीले निकाल्दिएको तरकारी काट्न र बाहिर वार बि क्यु मेसिनमा मासु पोल्ने तयारीमा जुटे । खाना खाँदा बेलुकाको नौं बजेको हुँदो हो । यसो साढे नौ बजेतिर त टोली रातको झिलिमिली मन्टेरियलसहर हेर्न जाने तरखर पो गर्न थाल्यो । अघिल्लो दिन राति दस बजेसम्मको काम र त्यो दिनको हिंडाइले पनि म धेरै नै गलेकी थिएँ। साथीहरूसँग जाने प्रवल इच्छा हुँदा पनि शरीरले त्यति साथ दिएन सोचें असी वर्षे बा र सत्तरी वर्षे आमाका लागि पनि यहि बस्छु । बा ,आमा पनि निकै थाक्नु भएको होला। तर त्यतिबेला म तीन छक परें बा आमा त कपडा लाएर रातिको सहरको झिलिमिली हेर्न जानेको अग्रपंक्तिमा पो हुनुहुदो रहेछ। बा, आमाको त्यो जाँगर र उत्साह देखेर अलिकति डाह पनि लागेर आयो । बा आमा साथीहरूसंगै जानुभयो म भने सात जना केटाकेटीलाई लिएर घरमै सुतेँ ।
भोलिपल्ट बिहान हामी छ बजे नै उठिसकेका थियौं । आजको दिन मुख्य गरेर मन्टेरियल सहर घुम्नु थियो । आफ्नो गाडी लिएर जाँदा पार्किंगको निकै समस्या हुने कुरो सुनाउनुभयो महेश्वर श्रेष्ठ सरले । सार्वजनिक बसको टिकट लिएर बस र रेलमा घुम्न जाने कि उहाँले उपाय पनि बताउनु भयो । हामी सबै हो मा हो मिलाउँदै बसमै जाने निधो गर्यौ । पुरुष टोली र हामीहरूका ठूला छेकका केटाकेटी मिलेर टिकट लिन गए । अंग्रेजी भाषाको प्रयोग नगर्ने र फ्रेन्च मात्र प्रयोग गर्ने मन्टेरियल बासीले धेरैबेरसम्म भाषा नबुझेका कारण हाम्रा बूढाहरूका दिमाख घुमाइदिएछन् । धन्नै हाम्रा ठूला केटाकेटीले स्कूलमा अलिअलि भएपनि फ्रेन्च पढ्ने हुँदा तिनीहरूको ठुटे फ्रेन्चले काम गरेछ । र जसोतसो टिकट किन्न सफल भएछन् ।
हामी बिहानको करिब दस बजेतिर मन्तेरियल सहर घुम्न निस्कियौं । बसको करिब पचास मिनेटको यात्रापछि जमिनमुनिको रेलको यात्रा गरियो । सबै फ्रेन्चमा लेखिएका बोर्ड र सूचनाहरूले भने बेला बेला अफ्ठ्यारो पारिरह्यो हामीलाई । सुरुमा हामीले बसमा आधा घन्टाजति यात्रा गर्यौ त्यसपछि रेलमा चढेर यात्रा गर्यौं । रेलबाट ओर्लेर हामी क्यानाडाकै एतिहासिक चर्च नोट्रे डम हेर्न गइयो । हरेक वर्ष विश्वका आन्दाजी एक करोड दस लाख मानिसहरूले भ्रमण गर्ने यो चर्च विश्वकै एक पुरानो तथा एतिहासिक चर्च मानिदो रहेछ । चर्च बाहिर अनि भित्रका कलात्मक बुट्टाहरु र आकर्षक सजावटले त्यहाँ पुग्ने हरेकलाई लोभ्याउँदो रहेछ । त्यसपछि हामी मन्ट्रियल सहरको रमझम हेर्न व्यस्त भयौं । काठमाडौंको ठमेलजस्तै लाग्ने नोट्रे डम अगाडिको बजारमा विभिन्न किसिमका हस्तकला, वास्तुकलाका सामानदेखि कपडा र विभिन्न देशका खानेकुराका होटेलहरू छ्यापछ्याप्ती देख्न पाइन्थ्यो । त्यसपछि घुम्दैघुम्दै हामी ला ग्रेंड़े रूए दे मन्ट्रियल घुम्न गइयो । यो एउटा फेरीको चक्का हो । यो क्यानडाकै सबैभन्दा अग्लो फेरीको चक्काको रूपमा चिरपरिचित रहेछ ।
खुल्ला नीलो सफा आकाश, अलिअलि गर्मी तर सार्है नै गर्मी भन्न नमिल्ने त्यो दिनको मौसमले पनि हामीलाई निकै साथ दिएको थियो । मौसम र वातावरणले पुलंकित हामी फोटो खिच्नमा आफ्नो सम्पूर्ण बलबूता लगाइरहेका थियौं । जवानीमा त्यति मस्तसंग घुम्न नपाउनु भएको बा, आमा पनि फोटो खिच्न त्यति झन्झट नमान्नु भएको देखेर म छक्क परेकी थिएँ! हामीले जसरी भन्छौं त्यसरी फोटो खिच्न तयार भइदिनुभएको थियो । बा, आमालाई सकभर हामीले एकजनाले छोडेका थिएनौं। हामीलाई लाग्थ्यो हामी हराए त फ्रेन्च नजाने पनि जसोतसो बसेका ठाउँमा पुगिएला अंग्रेजीनै बोलेर पनि । तर बा, आमा हराउनु भयो भने के होला ? तर कहिलेकाहीं के हुँदो रहेछ कुन्नि जे नभए हुन्थ्यो भन्यो त्यहि भइदिने। हामी महिलाहरू नै पर्यौं फोटो खिचेर कहिल्यै नथाक्ने। फेरि जस्तो पायो त्यस्तै फोटोले चित्त बुझ्ने हो र हाम्रो ? पुरुष टोलीलाई जहिल्यैको हवाइजहाज छुट्छ कि जस्तो चटारो। हामी चार साथीहरू त्यहिँ अग्लो फेरी कै अगाडि फोटो खिज्दै थियौं पुरुष टोली जाउँ अब भनेर हिंड्यो । आमा ,बा पनि त्यहि हामीसंगै फोटो खिज्दै हुनुहुन्थ्यो पुरुष टोलीको पछि लागेर हिंड्नु भएछ । तर भिड यस्तो थियो कि उहाँहरू त्यहीं अलमलिनु भएछ । पुरुष वर्गले ठानेछ आमा बुवा हामीसँग हुनुहुन्छ हामीले ठान्यौं पुरुषटोलीसँग बा, आमा जानुभयो। पछि जब हामीले उहाँहरूलाई भेटाउँदा त बा आमा त हुनुहुन्नथ्यो ।
मेरो त सातोपुत्लो नै उड्यो । सबै बा, आमालाई खोज्न चारैतर्फ भौतारियौं । मेरा आखाँ पिलपिल भइसकेका थिए । यताउता दौडदा दौडदा शरीर पसिनाले निथ्रुक भिजिसकेको थियो । डर र निराशाका कारण शरीर लगलग कामिरहेककक थियो । एकछिनको दौडधुप पछि सगरमाथाको चुचुरो विश्वमा अग्लिए जसरी बाको नेपाली ढाका टोपी मान्छेको भिडमा टुप्लुक देखियो। मलाई मान्छेको भीडमै पनि खुसीले तीन भित्ता उफ्रूंजस्तो लाग्यो। दगुर्दै उहाँहरू भए ठाउँमा गएँ । साथीहरू पनि मेरा पछि पछि आउनुभयो । बा, आमा आफूहरू अब पक्का हराइयो भन्ने महशुस भएपछि निरास भएर पहिले हामी जम्मा भएको ठाउँमा गएर उभिनु भएको रहेछ। जब हामी लिन गयौं दुवैजना आँखाभरि आँसु पारेर मलिनो अनुहार यताउता हेर्दै हुनुहुन्थ्यो । जब हामीलाई देख्नुभयो ठूलै राहत मिलेको भावमा मुसुक्क मुस्कुराउनु भयो। हामी सबैका अनुहारमा खुसी छायो ।
घुम्ने र बा, आमा हराएको धुनले गर्दा हामीले पेटको भोकको धुन त सुनेकै रहेनछौं । जब बा, आमा भेटिनु भयो हामी भोकको र तिर्खाएको महशुस गर्यौं । अनि बल्ल केटाकेटी किन अघिदेखि झगडा गरिरहेका रहेछन भन्ने कुरो पनि बुझ्यौं। अनि त्यहीं नजिकैको एउटा पार्कमा बसेर अलि अगाडि किनेको पिज्जा सबै मिलेर निकै मीठो गरि खायौं। त्यसपछि घुम्न बाकी रहेको माउन्ट रोयल पहाड घुम्न गइया े। मन्ट्रियल सहरबाट चालिस मिनेटको बसको यात्रा गरी पाँच दस मिनेटको हिँडाइमा पुगिने उक्त पहाडबाट चारैतिर खुलेको मन्ट्रियल सहर निकै मनमोहक देखिँदो रहेछ । माउन्ट रोयलबाट घर बसेको ठाउँ फर्कदा झमक्कै साँझ परिसकेको थियो । सबैजना थकित थियौं । सबैजना मिलेर खाना बनायौं खायौं र सुत्यौं ।
आजको हाम्रो मुख्य योजना क्युबेक सहर घुम्नु थियो । हामी बसेको सहर मन्ट्रियल सहरबाट दुई घण्टाको दुरी गएर घुमेर फेरि बेलुका मन्ट्रियल नै फर्कनु पर्ने थियो । जसका लागि बिहानै क्युबेक सहर घुम्न हिँडियो । बिहानको करिब दस बजेतिर त्यहाँ पुगेका हामी सुरुमा क्युबेक प्रान्तको संसदीय भवन हेर्न गइयो फूलैफुलले सजाइएको क्युबेक सहर दोहोरो बाटामा अनेकन पर्यटकीय पसलहरू थापिएका थिए । सहरका बाटाभरि । यसैगरी सहरका बीच भागमा ढुङ्गा र इट्टा कँुदेर बनाइएका स–साना बाटाहरूले सहरलाई झन आकर्षक बनाइदिएको थियो । माथि डाँडाको क्युबेक सहर अनि सहरबाट तल देखिने नीलो समुन्द्रजस्तै ठूलो देखिने सेन्ट लरेन्स नदीले क्युबेक सहरको सौन्दर्यमा अझ शृंगार थपिदिएझैँ महशुस गराउँथ्यो । अझ माथिबाट देखिने ठूलाठुला फेरीहरू, माथिबाट हेर्दा सामुन्द्रिक जहाजजस्तै लाग्दा रहेछन् ।
क्युबेक उत्तर अमेरिकाकै युरेपियन ढाँचामा बनाइएको पुरानो सहर हो । तसर्थ पनि यो सहर पुग्दा र त्यहाँका घरहरू देख्दा जो कोहीलाई पनि युरोपको कुनै सहरमा पुगेजस्तो आभाष हुँदोरहेछ । जति हेर्यो उति हेरूँ लाग्ने क्युबेक सहरलाई एकैछिनका लागि ओझेल पार्दै हामी सहरबाट तल झर्यौं सेन्ट लरेन्स नदीलाई नजिकैबाट सुम्सुम्याउन । अहो ! कति मनै बहलाउने सुन्दर नदीको किनारमा रहेको सहर । जसले हामीलाई पोखराको लेकसाइडको झल्को मेटाईदियो । नदीका किनारमा रहेका साना–साना पसलहरू र ती पसलहरूमा संसारका सबै देशका सामानहरू बेच्न राखेको जस्तो लाग्थ्यो । अर्को अनौठौ विशेषता त ती प्रत्येक पसलहरू फूलले सजाइएका थिए ।
सेन्ट लरेन्स नदीको फेरीमा चढेर पारि तरी क्युबेक सहरकै अर्को भाग घुम्ने रहरले कुत्कुत्याएको थियो हामी सबैलाई । तर साझको चार बजिसकेको थियो। अलिकति सहरको माथिकै भाग पनि घुम्न बाकीं नै थियो। अर्कोतिर सुरू सुरुमा खुब जोसिएर हिंडेका केटाकेटी र बा,आमा पनि अलिकति हिड्ने बित्तिकै थ्याच्च बस्न थाल्नु भएको थियो। फेरीमा घुम्ने धोको मनमा राख्दै माल्थिल्लो सहरतिर नै पाइला मोडियो ।
माथिल्लो बजारमा हिंड्दा बाटो नजिकैका रेष्टुरेन्टहरूबाट आएका पुटिनको मीठो बास्नाले सबैको ध्यान खिचिरहेको थियो । यत्तिकैमा महेश्वर श्रेष्ठ सर बोल्नु भयो क्युबेक आएपछि क्युबेकको पुटिन नाचाखी त के जानु हो। त्यसमै हो ,मा हो , मिलाउनुभयो टोमेन्द्र सुबेदी सर र रबीन्द्र घिसिङ्ग सरले। केटाकेटी त क्युबेक पुटिनका लागि क्यानडा कै प्रसिद्ध ठाउँ भनेर किताबमा पढेका पुटिन खाने भनेर खुसी नहुने कुरै भएन । बनाउदै गरेको त्तातातो पुटिन किनियो । तातो पुटिन बढो मज्जा आउँदो रहेछ खाँदा । सोचे, सायद नखाएको भए त ठूलै मौका गुमाइँदो रहेछ । निकै मीठो स्वादबाट बन्चित होइनेरहेछ ।
क्युबेक सहर यति रमणीय थियो कि कसैको मनै थिएन छोड्नलाई । सुनिधि भन्दै हुनुहुन्थ्यो बेलुकाको क्युबेक सहर झन कत्ति रमाइलो हुन्छ होला हगि ? देवकी र अमृता म्याम सहर हेर्न अझै धीत नमरेको भनेर गुनासो गर्दै हुनुहुन्थ्यो । तर सबै कुरा पहिले नै व्यवस्था गरिएको हुँदा भ्रमण थप्न असम्भव नै थियो । अन्त्यमा मन नलाग्दा नलाग्दै पनि सुन्दर क्युबेक सहरलाई पछाडि पारेर हामी दक्षिण दिशातिर हानियौं आफ्नै बासास्थानतर्फ । गाडीमा बजिरहेको थियो मीठो पुरानो नेपाली चलचित्रको गीत ….यो पहाडको ढुंगा माटो यी सब हुन् माया बसेको……..।
विष्णु पगेनी सिग्देल
एटलान्टा, अमेरिका ।