समाचार
काठमाडौं ।
सर्वनाम थिएटरले आफ्नो स्थापनाको ४५औँ वर्ष प्रवेश विशेष कार्यक्रम गर्दै मनाएको छ । बुधबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा सर्वनामका अध्यक्ष तथा अग्रज नाट्यकर्मी अशेष मल्लद्वारा लिखित कविता मञ्चन गरियो । ‘समानता’ शीर्षकको उक्त कविता सर्वनामका दुई कलाकारहरूले मञ्चन गरे । उक्त अवसरमा सर्वनामका दुई रंगकर्मी उषा रजक र मनोज महर्जनलाई सम्मानित गरियो । कार्यक्रमका प्रमुख अतिथि हरिप्रसाद धरेल, नाट्यकर्मी मल्ल र अर्का अग्रज नाट्यकर्मी ओममणि शर्माले दुवै रंगकर्मीलाई सम्मानित गरे ।
कार्यक्रममा चर्चित गायिका लोचन भट्टराईले आदिकवि भानुभक्त आचार्यद्वारा रचित ‘रामायण’को बालकाण्ड र अयोध्याकाण्डका केही श्लोकहरू गाएर सुनाइन् । कार्यक्रममा प्रमुख अतिथि धरेलले सर्वनाम नाट्य समूहले साहित्य कला संस्कृतिका माध्यमबाट सांस्कृतिक संरक्षणमा काम गर्दै आएको उल्लेख गरे । कार्यक्रममा सम्मानित कलाकारहरू उषा र मनोजले आफ्नो रंगकर्म यात्राबारे अनुभव साझा गरे ।
उक्त अवसरमा सर्वनामले केही महिनाभित्रै लौहपुरुष गणेशमान सिंहको जीवनीमा आधारित नाटक मञ्चन गर्ने घोषणा गरेको छ । गणेशमान फाउन्डेसनका घनेन्द्रपुरुष ढकालले नयाँ पुस्ताले पनि गणेशमानका बारेमा जान्नुपर्ने भएकोले उनको जीवनीलाई सर्वनामसँगको सहकार्यमा नाट्यीकरण गरेर प्रस्तुत गर्न लागेको बताए । कार्यक्रममा सर्वनाम ग्यालरीमा चित्रकला प्रदर्शनीको उद्घाटन पनि गरियो ।
