• २०८२ चैत्र १७, मंगलवार

सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा मुक्तक वाचन कार्यक्रम सम्पन्न

काठमाडौँ ।

मुक्तककार रामसुन्दर देउजा, पूर्णबहादुर श्रेष्ठ ’ह्रदयङ्कृत’ र सुभद्रा अधिकारीले संयुक्त रूपमा मुक्तक सुनाएका छन् । राजधानीको ठमेलमा सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनमा सम्पन्न उक्त मुक्तक वाचनमा प्रत्येक मुक्तककारले जनही पन्ध्र थान मुक्तक सुनाएका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सुन्दर कार्यक्रमको निम्ति प्रतिष्ठानलाई धन्यवाद दिए । उनले वर्तमान समयमा चतुष्पदीय हरफमा लेखिने मुक्तकले गहिरो भावको सूत्रात्मक अभिव्यक्ति दिने बताए । ’अनुभूति, भावना अभिव्यक्त गर्ने शक्तिशाली माध्यमको रूपमा मुक्तक रहेको बताउँदै भने अन्य रचनाको तुलनामा मुक्तकमा विम्ब, प्रतिक, अलङ्कार,ध्वनि प्रयोग हुन्छ। मुक्तक जुनसुकै विषयमा पनि लेख्न सकिन्छ ।

मुक्तक प्रतिष्ठानले मुक्तक सम्बन्धमा प्राडा लक्ष्मणप्रसाद गौतमको अगुवाइमा सिद्धान्त निर्माण गरी पुस्तक समेत प्रकाशन गरेको छ ।’ उनले आफ्ना केही थान मुक्तक समेत सुनाए । यसैगरी लोमस वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे अटलले कार्यक्रम सुन्दर रहेको, मुक्तककारहरूका मुक्तकहरू समसामयिक विकृतिविरुद्ध लक्षित देखिएका मात्र नभएर देशप्रेम, माटोको माया, भावना, प्रेम, सम्बन्ध लगायतका विषयमा प्रस्तुत भएको बताए । छविरमण सिलवालले उपस्थित सबैलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सबैको सक्रिय सहभागिताको अपेक्षा गरे ।

कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले गर्दै मुक्तककारहरूको छोटो परिचय समेत दिएका थिए । वाचित मुक्तकहरू विषयगत रूपमा विविधता रहेका थिए। मुक्तकहरूमा देशप्रेम, मायाप्रेम, समसामयिक विकृति र विसंगतिप्रति तिव्रतर रोश र व्यङ्ग्य व्यक्तिएका थिए । चिवहालः गौचर परिवारको सहकार्यमा भएको कार्यक्रमको मिडिया पार्टनर इखवर नेट रहेको छ ।