कही अनकही

हो सृजा
तिमीले मलाई असाध्यै माया गर्छौ
जसरी गर्दाे हो गुलाबले रङलाई माया
जसरी गर्दाे हो आकाशले जूनलाई प्रेम
तिम्रो कोमल ओठबाट
आकाशका ताराझैँ सिलसिलेबार
कुनै सुन्दर छन्द कविताको लयझैँ
एकतमास बगेर आउने यी शब्दहरू
मात्र तिम्रा यादगारका खातिर काफी छन् प्रिया
यी हेर त एक फाँकी ती शब्दका आंशिक लहरहरू :
सातसात कल्प तपाईंकै हुनपाऊँ,
सातसात जुनी यसरी नै बस्नपाऊँ…
तपाईंको कोमल शरीर सधैँ फूलले भरिरहोस्
मैले यस्तै सुगन्ध लिइरहन पाऊँ…
यी आँखाले सधैं हेरिरहन पाऊँ आदि- आदि
म पर हुँदा
सिमलको टुप्पामा बसेर गाएको कोइली सुनेर
अन्जानमै मलाई सम्झेर तिमीले भुइँमा बनाएको खोबिल्टो
रातैरातमा पनि
एक्लै
औँला गन्दै पीपलबोटमुनिको भुइँमा
तिमीले कोरेको तस्बिर
काफी छन् सृजा
कुनै बहुमूल्य जुहारातको उपमाले कहाँ पो भेट्ला र
हो सृजा,
कति प्रिय छन्
म निद्रामा हुँदा
हाम्रै छानोको दूरबिनबाट
हेर्ने चन्द्रलाई
कोमल हातले छेकेर
सुन्दर सपना भरिदिएका ती रातहरू
हो,
तिमीले भन्यौ कहिल्यै एक्लो बन्नुहुन्न हामी
कहिल्यै कल्पना पनि गरिनौ
अनि
सपना पनि भरिनौ
बिछोडका अप्रिय लाग्ने कथाहरूका
त्यसैले सृजा म पत्याउन सक्दिनँ
गीताले गरेका अपव्याख्याका नारीकथा
कहाँ लत्याउन सक्छु र
मायाले भरिएका तिम्रा सुन्दर शब्दगहना
छायाझैँ आँखामै बसेका कोमल मुस्कान ओठ
भरोसै हुँदैन मलाई
मुना छाडेर मदन ल्हासा गएका कथा
अनि कसरी लत्याऊँ
जुलियटले उत्सर्ग गरेका प्रेमगाथा
हो सृजा !
समुद्र पानीले नअघाएझैँ
चाँदनी सूर्यकिरणले नथाकेझैँ
तिमी कहिल्यै थाक्नेछैनौ
हाम्रो प्रेमकथाका सुन्दर पृष्ठहरूमा
हो हजुरबुबा उनी कहिलै थाक्नेछैनन्
हाम्रो प्रेमवाटिकामा फूल टिपेर…
यसरी सुनाइरहँदा प्रेमकहानी
हजुरबुवा अचानक भन्दै हुनुहुन्थ्यो,
‘सपना त उल्टो पो हुन्छ लाटा ।’
(हाल भर्जिनिया, अमेरिका)
[email protected]