हिन्दी कविता
काठमाडौँ ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीको ऐतिहासिक कृति ‘बखान’ लाई यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार प्रदान गरिने भएको छ । साहित्य संगम चितवनले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यसपटक उपन्यास ‘बखान’ का लागि पराजुलीलाई दिने निर्णय गरेको हो। संस्थाका अध्यक्ष शशिकिरण रेग्मीका अनुसार आगामी शनिबार आयोजना हुने विशेष कार्यक्रममा पुरस्कार वितरण गरिनेछ। पुरस्कारको राशि २० हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।
उपन्यास ‘बखान’ प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनमा आधारित छ, जसमा चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई सशक्त रूपमा चित्रण गरिएको छ । अध्यक्ष रेग्मीले चितवन सहिदहरूको बलिदानले सिंचित भूमि भएकाले सोही पृष्ठभूमिमा लेखिएको यो कृतिलाई पुरस्कारका लागि छनोट गरिएको बताए ।
२०६४ मा स्थापना भएको सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कारबाट यसअघि १२ स्रष्टा सम्मानित भइसकेका छन्। पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ तथा अंग्रेजी कथासंग्रह ‘ड्रिमी आइज’ प्रकाशित छन्। झण्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय पराजुली हाल चितवनलाई आधार बनाएर पत्रकारिता गर्दै आएका छन् ।
