• २०८२ चैत्र १३, शुक्रबार

भागीरथी श्रेष्ठको लघुकथाकृति ‘पानीको अर्थ’ लोकार्पण

काठमाडौं ।

अग्रज कथाकार भागीरथी श्रेष्ठको नवीन लघुकथाकृति ‘पानीको अर्थ’ एक कार्यक्रमबीच लोकार्पित गरिएको छ । यो उनको दोस्रो लघुकथाकृति हो । ३४ वर्षअघि उनको पहिलो लघुकथाकृति ‘रंगीन पोखरी’ प्रकाशित भएको थियो । लघुकथा समाज नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठलगायतले कृति लोकार्पण गरे । उक्त अवसरमा प्रमुख अतिथि डा. श्रेष्ठले लघुकथा लेखनमा संरचनागत शुद्धता हुनुपर्नेमा जोड दिँदै कृतिभित्रका लघुकथाहरूबारे आफ्नो धारणा राखे । उनले कृतिको सम्पादनको चर्चा गर्दै सम्पादकले धेरै कुराको जिम्मेवारी लिनुपर्ने बताए ।

कार्यक्रममा समीक्षक डा. दीनबन्धु शर्माले श्रेष्ठका लघुकथाहरूमा सांकेतिक प्रभाव र दार्शनिक दृष्टिकोण रहेको उल्लेख गरे । उनले श्रेष्ठका लघुकथाहरू हल्ला नगर्ने खालको भएको चर्चा गरे । अर्का समीक्षक डा. हरिप्रसाद भण्डारीले श्रेष्ठका लघुकथाहरूको प्रवृत्तिगत चर्चा गर्दै पुस्तकमा समेटिएको ५४ लघुकथाहरूले समाजका विकृति विसंगतिसँगै राजनीति र देशको अवस्थामाथि तिखो व्यङ्ग्य गरेको उल्लेख गरे ।

समाजका संस्थापक अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले भागीरथी श्रेष्ठको उचाइ यस लघुकथाकृतिले अझ उठाएको बताए । कृतिकार श्रेष्ठले आफ्नो लघुकथा लेखनका विषयमा बोल्दै पाठकको मायाले यो कृति प्रकाशनमा आएको बताइन् । कार्यक्रममा केशव पराजुली, तुलसीहरि कोइराला, पद्मावती सिंह, जलेश्वरी श्रेष्ठलगायतले बोले ।