कविता
काठमाडौँ ।
तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्री फिचर्ड छन् । निर्देशक तुलसी घिमिरेको शब्द रहेको गीतमा रञ्जित सिंह गजमेरले संगीत भरेका छन्। गीतमा भारती घिमिरे, साकार आप्टे, मदनकृष्ण श्रेष्ठ, अश्मिता अधिकारीको स्वर रहेको छ। उक्त गीतमा अभिनेता विपिन कार्कीको ¥याप सुन्न सकिन्छ । उक्त गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् ।
निर्देशक घिमिरेले केही वर्षको अन्तरालमा कथावस्तु छनोट गरेर फिल्म तयार गरेको बताए। ‘यो विषयलाई फिल्मको माध्यमबाट आम दर्शकसम्म पुर्याउनु पर्छ भन्ने लागेर मैले फिल्म बनाएको हुँ । यसमा मनोरन्जनसँगै एउटा महत्वपूर्ण संदेश पनि छ । यो गीतले पनि त्यसमा केही सङ्केत गरेको छ’, निर्देशक घिमिरेले भने । ग्रामीण परिवेशमा छायांकन गरिएको यो गीत नृत्यप्रधान र मिठासपूर्ण लाग्छ। ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउँ छाड्नुपर्ने बाध्यता, सहरभन्दा गाउँ उपयुक्त रहेको लगायतका सन्देश गीतमा छ ।
गीत सार्वजनिक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक घिमिरेको निर्देशकीय यात्रा र उहाँको परिवाले नेपाली फिल्ममा दिनुभएको योगदानको चर्चा गरे । ‘तुलसी दाइको परिवारनै यही फिल्ममा लागेर आफ्नो जीवन समर्पण गर्नुभएको छ । यो फिल्मबाट उहाँकी कान्छी छोरी पन्चमी पनि फिल्ममा आएकी छिन्, यो परिवारको समर्पणलाई हामीले सम्मानसहित कदर गर्नु पर्छ । तुलसी दाइको फिल्मको कथ्यशैलीको म सधैँ प्रसंशक हुँ, यसबाट पनि निकै आशावादी छु’, अध्यक्ष डिसीले भने ।
वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शन हुने उक्त फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका फिल्ममा सहकार्य गरेका छन् ।
फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याएकाछन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् । उक्त फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् ।
