• २०८२ फाल्गुन २५, सोमबार

न्यौपानेको ‘मौन घुम्तीहरू’ कवितासङ्ग्रह र डा. न्यौपानेको ‘अक्षराञ्जलि’ (गजलकाव्य) माथि परिचर्चा सम्पन्न

पोखरा ।

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानको नियमित मासिक कार्यक्रमअन्तर्गत पोखरास्थित कन्या क्याम्पस, नदीपुरको सभाहलमा दम्पती स्रष्टाका दुई कृतिमाथि परिचर्चा गरिएको छ । साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका आजीवन सदस्य शान्ति कँडेल न्यौपानेको ‘मौन घुम्तीहरू’ (कवितासङ्ग्रह) र डा. नवराज न्यौपानेको ‘अक्षराञ्जलि’ (गजलकाव्य) माथि परिचर्चा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि सरुभक्तले ‘मौन घुम्तीहरू’ को लोकार्पण गर्दै एउटै समय र कार्यक्रममा दम्पतीका दुई कृतिमाथि परिचर्चा हुनु नेपाली साहित्यका लागि सुखद पक्ष भएको बताउनुभयो । उहाँले कुनै पनि साहित्यिक विधालाई साँघुरो परिभाषाभित्र सीमित गर्न नहुने धारणा राख्दै नेपाली साहित्यमा ‘तँ ठूलो कि म ठूलो’ भन्ने प्रवृत्ति बढ्दै गएको टिप्पणी गर्नुभयो ।

डा. श्रीधर न्यौपानेले ‘मौन घुम्तीहरू’ माथि परिचर्चा गर्दै कवितामा कवि आफ्ना आग्रहबाट मुक्त हुने बताउनुभयो । शीर्षक, संरचना, दर्शन, भाव, शिल्प, प्राप्ति र सीमाजस्ता आधारमा विश्लेषण गर्दै उहाँले ‘सवाई’ जस्तो सरल लोकलयमा रचित कविताहरूले नेपाली जनजीवनलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको टिप्पणी गर्नुभयो । त्यस्तै समीक्षक प्रा. डा. शालिग्राम सुवेदीले ‘अक्षराञ्जलि’ गजलकाव्यमाथि परिचर्चा गर्दै साहित्यलाई शब्दको खेलका रूपमा अथ्र्याउनुभयो। उहाँले स्रष्टा न्यौपानेले आफ्नी आमाको महाप्रस्थानको स्मृतिमा अक्षररूपी जल लिएर श्रद्धाञ्जलि अर्पण गरेको भाव उक्त कृतिमा अभिव्यक्त भएको बताउनुभयो ।

कार्यक्रममा स्रष्टाद्वयले लेखकीय मन्तव्य राख्दै सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभएको थियो । शिव त्रिपाठी र पद्मराज ढकालले ‘मौन घुम्तीहरू’ बाट कविता वाचन गर्नुभएको थियो भने आवाज शर्मा र टङ्कराज बरालले ‘अक्षराञ्जलि’ बाट गजल वाचन गर्नुभएको थियो । आवाज शर्माले गजलको सैद्धान्तिक पक्षबारे चर्चा गर्दै गजल प्रशस्ति काव्यबाट विकसित हुँदै प्रेमकाव्यका रूपमा स्थापित भएको उल्लेख गर्नुभयो । गजल लेखिनेभन्दा बढी भनिने विधा भएकाले यसको विश्लेषण गर्दा कथ्य भाषालाई आधार मान्नुपर्ने उहाँको धारणा थियो ।

संस्थाका अध्यक्ष सुरज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव गायत्री पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव डा. पिताम्बर पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका लागि आवश्यक व्यवस्थापन एडभान्स एजुकेसनल इन्स्टिच्युटले गरेको थियो । कार्यक्रममा संस्थाका सदस्य तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।