वसन्तवेला
१. एउटा समाचार लिलाममा छ
पत्र-पत्रिका ,
रेडियो-टेलिभिजन,
अन लाइन अफ लाइन-
जस्ले पनि खरिद गर्न मिल्ने ।
सम्पादक ज्यू
एउटा समाचार लिलाममा छ ।
नौ रेक्टरको भुकम्प ल्याउने,
कसैलाई सत्ताबाट खगार्ने,
कसैलाई गद्धिमा चढाउने,
जादुगरको छडी झै –
कसैलाई लुरुलुरु हिडाउने ,
कसैलाई धुरुधुरु रुवाउने ।
भन्न नमिल्ने-
रातलाई दिन पार्ने,
दिनलाई रातै बनाउने,
कसैको होस उडाउने,
कसैको वासै उठाउने ।
सम्पादक ज्यू
एउटा समाचार लिलाममा छ ।
भ्रष्ट,अनैतिकलाई घेर्ने
विसंगति,
विधि-विधानलाई फेर्ने
गाउले सहरलाई घेर्ने
सहरले गाउलाई हेर्ने
दृष्टि बदलेर चक्मा दिने ।
सम्पादक ज्यू
एउटा समाचार लिलाममा छ ।
सुन्दैमा-
कसैको आङ सिरिङ्ग पार्ने
कसैको रौ जिरिङ्ग पार्ने
जितेकाले हार्ने,
हारेकाले जित्ने ,
माथिकालाई तल झार्ने
तलकालाई माथि पार्ने
सत्ता कब्जा गर्नेहरुलाई
नाङ्गेझार पार्ने ।
भ्रष्टलाई धुलो चटाउने
बेइमानलाई
कालापानी कटाउने ।
श्यालको सिङ हैन सम्पादक ज्यु !
नागमणि, गौलोचन वा
एकमुखे रुद्राक्ष नठान्नुहोला-
भाग्य बदल्ने अवसर हो यो ।
२. चुनावः नेताको मनोभाव
प्रतिपक्षलाई
सक्छौ,
पछार
ढ्याङ्ग्रो ठोकेर लखेट ।
भित्तामा ठेलेर
ङ्यांक,
च्याप ।
सक्दैनौ,
परैबाट
हिलो छ्याप ।
खोल्न सक्ने जति खोल
नङ्ग्याउ-नाङ्गेझार पार ।
कट्टु नलगाएको
फोटो भेटिन्छ कि कतै,
यादगर ।
आफु
दूधले नुहाउ ।
धारे हात
उतै पार ।
देशी-विदेशी
दलालको संज्ञा
करार गर ।
हुटिङ गर ।
प्रहार गर ।
सुटुक्क,
दूत पठाएर,
प्रतिपक्षको हुलबाट-
पर्चा छर
र
आफ्नो बदनाम
आफै गर
लोभीलाई लाभ देखाउ
नजिक हुन खोज्नेलाई
खजाञ्ची पठाउ ।
साम,दाम,दण्ड,भेद-
सुण्ड,मुण्ड खटाउ ।
मसला भरेर
चिट्ठी पठाउ ।
हारिन्छ जस्तो लागे
धाधली हुँदैछ भनेर
हल्ला गर
कुनै अस्त्र नचले
अन्तमा,
चुनाव बहिस्कार गर !
चेतन काफ्ले