समाचार
काठमाडौं ।
कक्षा पाँचमा पढ्दै गरेका अविक गौतमले अंग्रेजी भाषामा लेखेको बालउपन्यास ‘द वाइल्ड्स एन्ड वन्डर्स अफ भेनुआ आइल्यान्ड’ सार्वजनिक गरिएको छ । अभिक ११ वर्षका छन् । ललितपुर चाकुपाटमा आयोजित कार्यक्रममा साहित्यकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, प्रमोद प्रधान, भारद्वाज मित्रलगायतले कृति सार्वजनिक गरे ।
साहित्यकार ‘रोदन’ले यो उमेरमै उपन्यास तयार पार्नु आफैँमा सानो सफलता नभएको बताए । नेपाली पाठक र साहित्यकारहरूका निम्ति यो गर्वको विषय भएकोले बालक स्रष्टा गौतमबाट आफूले अरू कृतिको पनि अपेक्षा गरेको बताए । बालसाहित्यका अभियन्ता तथा साहित्यकार समालोचक प्रमोद प्रधानले कृतिमाथि चर्चा गर्दै यसमा यात्रा, रोमाञ्च, साहस सबै कुरा आएको उल्लेख गरे ।
यस कृतिले दश वर्षसम्मका बालबालिकाहरूलाई कस्तो साहित्य मनपर्छ भन्ने संकेत गरेको उनको तर्क छ । उनले भने, “यस्ता कृतिहरू कम आएको अवस्थामा आफ्नो उमेरका बालबालिकाको मनोविज्ञान बुझेर अभिकले साहित्य सृजना गरेको देखिन्छ ।” प्रधानले लेखकको कल्पनाशीलता राम्रो रहेको उल्लेख गरे । कम उमेरमै देखिएको सृजनात्मक क्षमता, कथाको संरचना र कल्पनाशील प्रस्तुतिको प्रशंसा गरे ।
विचित्र जनावर र छुट्टै संसारको निर्माण गरी उपन्यास सृजित भएको भन्दै सञ्चारकर्मी विन्देश दहालले अभिकले आमाप्रति सम्मानभाव प्रकट गरेको पनि बताए । कवि छविरमण सिलवालले बालबालिकाको सृजनालाई महत्व दिने विद्यालय र परिवारप्रति धन्यवाद दिए । बाल उपन्यासकार अभिक गौतमले आफूले माया पाएर उत्साहित भएको बताए ।
