समाचार
काठमाडौं ।
साहित्यकार नारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयको आरशालामा आयोजित कार्यक्रममा ढकालले आफ्ना नातिनातिनालाई पुस्तक उपहार दिँदै कृति लोकार्पण गरेका हुन् ।
कार्यक्रममा लेखक ढकालले आफ्नो पाँच दशक लामो साहित्यिक, राजनीतिक र सामाजिक आन्दोलनका अनुभव सुनाएका थिए। साहित्यलाई राजनीति, इतिहास र समाजप्रतिको प्रश्नका रूपमा अथ्र्याउँदै उनले यस उपन्यासलाई ‘विश्वासघातविरुद्ध आफ्नो स्वप्न–दुस्वप्न वक्तव्य’ को संज्ञा दिएका छन् ।
नेपालयका सम्पादक विमल आचार्यले यो उपन्यास नेपाली साहित्यको इतिहासमा बिर्सन नसकिने कृति भएको दाबी गरे। वि.सं. २०३० सालदेखि लेखन यात्रा सुरु गरेका ढकालका यसअघि उपन्यास, कथा, निबन्ध र कविता गरी झन्डै दुई दर्जन कृति प्रकाशित छन् ।
