• २०८२ फाल्गुन १३, बुधबार

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुटवलमा कविता प्रतियोगिता सम्पन्न

बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पतालको ११६औँ वार्षिकोत्सवका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार कविता प्रतियोगिता सम्पन्न भएको छ । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूबीच उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा सुनिता अर्याल प्रथम, विजय आचार्य द्वितीय तथा रुपलाल पन्थी तृतीय भएका कार्यक्रमका संयोजक दीपेन्द्र पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा निर्णायकको भूमिकामा रहनुभएको डा. नारायणप्रसाद पन्थ र साहित्यकार दलबहादुर गुरुङले साहित्यका माध्यमबाट वार्षिकोत्सव मनाइएकोमा खुशी व्यक्त गर्नुभयो ।

निर्णायक कवि दलबहादुर गुरुङले कवितामा विम्ब, प्रतिबिम्ब र अलङ्कारलाई विशेष महत्त्व दिँदै प्रभावकारी प्रस्तुति तथा वाचनशैली आवश्यक रहने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी सबै प्रतियोगीलाई सम्बोधन गर्दै डा. ज्ञानहरि मरासिनीले प्रतियोगिताले अस्पतालको इतिहास तथा डाक्टर, नर्स र कर्मचारीहरूको भूमिकालाई कवितामार्फत उजागर गरेको उल्लेख गर्दै आफू कविताबाट भावुक भएको बताउनुभयो ।

अस्पतालले हरेक वर्ष फागुन १५ गते वार्षिकोत्सव मनाउँदै आएको छ । यस वर्ष पनि वार्षिकोत्सवका अवसरमा कर्मचारी तथा स्वास्थ्यकर्मी सम्मान, अभिमुखीकरण, रक्तदान, फलफूल वितरण, सरसफाइ तथा सचेतना कार्यक्रमका साथै स्वास्थ्यकर्मी तथा कर्मचारीबीच मैत्रीपूर्ण भलिबल, फुटबल, ब्याडमिन्टन र म्याराथनलगायतका प्रतियोगिता आयोजना गरिएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिनुभयो ।