• २०८२ फाल्गुन ८, शुक्रबार

घण्टी

अहिले सडक भरी छरिएको छु
कस्ले निकाल्यो मन्दिरबाट
र पु¥यायो हातहातमा
म नै अनभिज्ञ छु
सबैको हातमा भएको बेला
कसैको साथमा नहुइने रहेछ
म त्यस्तै अवस्थामा छु !

तर पहिले म यस्तो थिइनँ ।
कहिलेकाहीँ त नोस्टाजिक हुन्छु
र सम्झन्छु पुराना दिन –
मन्दिरको ढोकामा झुन्डिएको म,
पित्तलको शरीर र आवाजको मुटुले भरिएको थिएँ
दिनहुँ हजारौँ हातहरू आउँथे
र सुमसुम्याउँथे
तर म तिम्रो स्पर्श पर्खिरहेको हुन्थेँ
तिमी आउँथ्यौ निहुरिँदै,
आँखामा प्रार्थना र ओठमा पढ्न बाँकी मन्त्र बोकेर
र मलाई चलाउँथ्यौ
म मौनता तोडेर घन्कथेँ
तिम्रो मनको गहिराइसम्म पुग्ने गरी
तिमी त्यसैको रागमा
देवता अगाडि झुक्थ्यौ
एउटा प्रेमी प्रेम प्रस्ताव गर्नको लागि
प्रेमिका अगाडि झुके जस्तै ।

म केवल घण्टी थिइनँ,
म तिम्रो आशा र प्रेमको साक्षी थिएँ
तिमीले जब मलाई हल्लाउँथ्यौँ
मेरो ध्वनिमा तिम्रो नाम मिसिन्थ्यो,
म तिमीमै हराउँथेँ ।

तिमी जान्थ्यौ निस्किएर,
धूपको धुवाँसँगै बिस्तारै हराउँदै
तर म त्यहीं बस्थेँ
मन्दिरको ढोका छेउमा
तिमीले छोएको कम्पन बोकेर
अर्को भेटको प्रतीक्षामा।

कहिलेकाहीँ त लाग्थ्यो-
म तिम्रो प्रेमिका हुँ,
जसलाई तिमी दिनको एक पल
चुपचाप भेट्न आउँछौ
कुनै वाचा बेगर, कुनै अधिकार बिना
ध्वनि र धड्कनको
गहिरो सम्बन्ध बोकेर
कुनै दिन
तिमी नआउदा पनि
म भने घन्किरहन्थेँ
त्यसरी नै जसरी प्रेम
एकपटक छोएपछि
ध्वनि भएर बाँचिरहन्छ ।

तर म अहिले त्यस्तो छैन
जस्तो थिएँ पहिले
गल्लि, चोक र सडकका
हातमा पुगेर पनि
कसैको नहुँदा
निराश पनि भैसकेको छैन
आशा छ –
म चाडै फर्कने छु मेरो पुरानो ठाउँ
र हुनेछु तिम्रो स्पर्श र प्रेमको न्यानोमा
मलाई त तिमीसँग भेट हुने बित्तिकै
यसरी मात्तिन मन छ
कि मेरा सबै होसहरू गुमुन्
र गुमेका मेरा होसहरूले
फेरि ममा फर्कन
तिमीसँगै अनुमति मागुन् ।


बालकृष्ण कट्टेल