समाचार
काठमाडौं ।
लेखक सर्वज्ञ वाग्लेको कविता संग्रह विम्ब कौशलटारस्थित बि डब्लु रेष्टुरेन्टमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । कृतिको विमोचन प्रा.डा. सनतकुमार वस्ती, रामबाबु सुवेदी, अश्विनी कोइराला र राजकुमार श्रेष्ठले संयुक्त रूपमा गर्नुभएको थियो । कार्यक्रममा प्रा.डा. सनतकुमार वस्तीले ‘विम्ब’ संग्रहबाट एक कविता वाचन गर्नुभएको थियो भने रामबाबु सुवेदीले कृतिकारलाई शुभकामना व्यक्त गर्नुभयो। अमेरिकाबाट लेखक सर्वज्ञ वाग्लेले पठाउनुभएको सन्देश अश्विनी कोइरालाले वाचन गरेर सुनाउनुभएको थियो ।
सन्देशमा वाग्लेले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाली भाषा, साहित्य, कला, संस्कृति र पहिचानको संवद्र्धनमा समर्पित संस्था भएको उल्लेख गर्दै स्रष्टाहरूलाई साझा चौतारी प्रदान गर्दै आएको संस्थाको योगदानको प्रशंसा गर्नुभएको थियो। साथै साहित्यिक यात्राका क्रममा आफू पारिवारिक शोकको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै पनि सिर्जनात्मक कर्मलाई निरन्तरता दिन पुस्तक प्रकाशनको प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
विदेशी भूमिमा समय र परिस्थितिका चुनौतीबीच पनि निरन्तर लेखनमा समर्पित रहँदै प्रकाशित ‘विम्ब’ केवल पुस्तक मात्र नभई संघर्षको प्रतिबिम्ब भएको उहाँको भनाइ छ। पुस्तक प्रकाशनमा सहयोग गर्ने साहित्यपोस्ट, प्रधान सम्पादक अश्विनी कोइराला, महेश पौडेल, गणेश खड्का तथा सम्पूर्ण साहित्यपोस्ट परिवारप्रति वाग्लेले आभार व्यक्त गर्नुभएको छ। पारिवारिक शोकका कारण कार्यक्रममा उपस्थित हुन नसकेकोमा उहाँले क्षमायाचनासमेत गर्नुभएको थियो । कृति शब्दमिडिया प्रा.लि. तथा साहित्यपोस्टमार्फत प्रकाशित गरिएको हो। वाग्लेका यसअघि ‘जुवाघर’, ‘साँढे’ (हास्यव्यंग्य निबन्ध संग्रह), ‘क्यासिनो’, ‘युधिष्ठिर’ (कथासंग्रह), ‘पुनर्वास’ (उपन्यास) र ‘नेता बन छोरा नेता बन’ लगायत कृतिहरू प्रकाशित भइसकेका छन् । ‘विम्ब’ उहाँको पहिलो कविता संग्रह हो ।
