तिमी किन पटक्क
डराउँदैनौ
मृत्युको छायाँसित…??
आकाश जत्रो पैतालाले
जुन दिन तिम्रो भोकको
नक्सा कुल्च्यौ
तिमी त्यही दिन गरिब भएर जन्मियौ
अधिकार !
लडेर मात्र पाइन्छ
यो मन्त्र कसले सिकायो तिमीलाई ?
कार्ल माक्र्सको हिरोइजम
तिमीमा कहाँबाट आयौ हँ ??
कसैसित अन्याय भइरहँदा पनि
चुपचाप
चुपचाप
बगरैबगर खोलाको बाटो
केही चाल नपाए जस्तो गरी
हामी हिँडिरहँदा पनि
तिमी त्यो खोलाको आवाज उछिनेर
बेस्सरी चिच्याइरहन्छौ
र
न्याय माग्छौ !!
डियर कमरेड !
तिम्रा साथीहरू थोरै
दुश्मनहरू धेर
किन छन् ?
चोकमा
जहाँ तिमी उभिएर
इन्कलाब भन्छौ
मजदुरहरूको कुरा गर्छौ
जुलुस निकाल्छौ
ती राता झन्डाहरूले
बोकेका
हँसिाँ
मार्तोलहरूले
किन अझसम्म भत्काउन सकेको छैन
समान्तीहरुको फलामे पर्खाल !
तिम्रो नाउँमा फटाहाहरू
राजनीति गर्छन्
बदनाम बन्छन्
पैसामा आफ्नै इमान बेच्छन्
कमरेड !
तिम्रा आँखाहरू
किन हरबखत रातो…??
कार्ल माक्र्सको फुलेको दारी
त्यस्तै दारी
तिमीले नि पालेका छौ
सैद्धान्तिक द्वन्द !
समान्तर
इमानदारी !
के तिमी एक्लैले
यो लडाइँ जित्छौ त !
चारु मुजुमदारको
ब्ल्याक एन्ड व्हाइट फोटो
अस्ति तिम्रो खल्तीमा पुलिसले भेटेदेखि
मलाई डर लागेको छ !
न्युजले दिनभरि
देशको भ्रष्टचार
राजनैतिक अडकलबाजी
हत्या
बलात्कार
अन्धविश्वास
सत्ताको खिचातानी
लाइभ प्रसारण देखाइरहन्छ
एसी रुममा
समाचारवाचक र पत्रकार
गरिबहरूको झुपडी देखाउँदै
चुकचुकाइरहन्छ
टीआरपी बड्छ
देशको गरिबी घट्दैन !
धनी र गरिब
मजदूर र मालिक
किन यो घडीसम्म एक हुन सकेनन् ?
सत्ताको दाउपेचमा
किन सर्वहाराले जितको गीत गाउन सकेनन् ??
डियर कमरेड
तर….
सत्यको इमान नबेच्ने
तिमीजस्ता बहादुर
जब यो माटो कुल्चिँदै हिँड्छ
लाग्छ,
तिमी एक्लैले थालेको युद्धको
विजयी सिपाही
तिमी नै बन्नेछौं
एक दिन ।
………………..
(सिक्किम, भारत निवासी कवि रोदन विगत दुई दशकदेखि सिर्जनाक्षेत्रमा निरन्तर लागेका स्रष्टा हुन् । उनका ‘समय स्ट्रोक’ लगायत काव्यकृतिहरू प्रकाशित छन् ।)