हिन्दी- कविता
पोखरा ।
कवि एवं भाषाविद् मुकुन्दशरण उपाध्यायलाई ‘हेमराज पहारी स्मृति पुरस्कार–२०८२’ प्रदान गरिने भएको छ । भाषा–साहित्यका सेवक स्वर्गीय हेमराज पहारीको नाममा स्थापित ‘हेमराज पहारी स्मृति प्रतिष्ठान’को हालै सम्पन्न बैठकले उपाध्यायलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारका लागि योग्य प्रतिभा छनोट गर्न माधव वियोगीको संयोजकत्वमा हरिदेवी कोइराला र कृष्ण पौडेल सदस्य रहेको समितिले गरेको सिफारिसलाई प्रतिष्ठानले अनुमोदन गरेको अध्यक्ष रीता पहारीले जानकारी दिनुभयो ।
संयोजक वियोगीका अनुसार उपाध्यायले विगत लामो समयदेखि नेपाली कविताको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएको छ । नेपाली भाषाको मौलिक पहिचान तथा स्पष्ट मानकीकरणका लागि अभियानमार्फत उहाँले पु¥याएको योगदानका आधारमा उहाँलाई पुरस्कारका लागि सिफारिस गरिएको हो । प्रत्येक वर्ष राष्ट्रियस्तरमा व्यक्ति तथा संस्थालाई प्रदान गरिने उक्त पुरस्कार यसअघि सत्य मोहन जोशी, सरुभक्त, अलिमियाँ (मरणोपरान्त) लगायत व्यक्तित्व तथा विभिन्न साहित्यिक संस्थाले प्राप्त गरिसक्नुभएको छ ।
उपाध्यायका वरदान, प्राकृत पोखरा, धर्ती र आकाश, महाभारत सूक्तिसुधा लगायत दर्जनभन्दा बढी कृति प्रकाशित छन् । नगद एक लाख रुपैयाँ राशिको उक्त पुरस्कार आगामी फागुन १६ गते पोखरामा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
