• २०८२ फाल्गुन ६, बुधबार

‘एउटा घाम मृत्यु सहेर बाँचिरहेछ’ कृति एक: आयाम अनेक

गीताश्री शर्मा

गीताश्री शर्मा

आमा, म तिम्रो
पाठेघरको जरायुज हुँ
मलाई बाँच्ने रहर छ ।

मलाई मुक्त पृथ्वीमा
संसारको उज्ज्वल नक्षत्र भएर
बाँच्ने र फूल्ने रहर छ
हो आमा !
मलाई असाध्य बाँच्ने रहर छ
मलाई बाँच्न देउ –
– बाँच्ने रहरमा म भ्रुण बोल्दैछु
“एउटा घाम मृत्यु सहेर बाँचिरहेछ“, कविता सङ्ग्रहबाट

एउटा भ्रुण यस पवित्र धरातलमा शिशु भएर सूर्यको उज्यालो हेर्न नपाउँदै आमाको गर्भमै अस्ताउन पर्ने अवस्थाबाट भ्रुणको मायालु चित्कार वा पुकार कवितामा छर्लङ्ग दर्शाइएको छ । यस धरतीमा रहेका प्राकृतिक सौन्दर्यलाई हेर्ने दृष्टिकोण आफ्आफ्नै छन् वा हुन्छन् अनि हाम्रो मानवसमाजमा पनि राम र रावण, मानव र दानव अनि एउटै आमा र बाबाका कोखबाट पनि विभीषण र रावणको जन्म हुन्छ ।

हाम्रो समाजमा पापीहरूको दृष्टिमा असुरक्षित रहेका नारीहरू दिनहौँ बलात्कृत भएको दुःखद अवस्था देखेर एउटी दयनीय अवस्थामा रहेकी ममतामयी आमाले आफ्नो गर्भमा रहेकी छोरी जन्माउन हिम्मत नभएर भ्रूणहत्या गर्न बाध्य भएको तीतो सत्य मात्र नभएर शाश्वत छ, अहिले पनि हाम्रो देश पुरुषप्रधान मानिन्छ, आमाको पवित्र गर्भमा हुर्किरहेकी छोरी चेलीलाई गर्भमै हत्या गराउन वाध्य बनाउने समाज चौतर्फी देखिन्छ । छोरी मात्र जन्माइस् भनेर आमालाई नै दिनदहाड़े जलाउने देशका नागरिक हामी नै छौँ । बूढ़ापाकाको उखान “गर्भको बात र फलानाको बात जानिंदैन“ भन्ने लोकोक्ति पनि विज्ञानले फेल गरिदिएको छ । आमाको गर्भमा छोरा छ कि छोरी ? अगावै बताइदिने मेसिन बनाइदिएको छ, हुनत भारतीय कानुनले यसलाई अवैधानिक बताए पनि द्रव्य राक्षकहरूका अगाडी यी सब कानुन अन्धा भइदिन्छन् । यो तीतो सत्यलाई कवितात्मक शैलीमा गरेको भ्रूणको यानी छोरीको बिलौना र प्रार्थना कारूणिक मात्र होइन दर्दनाक विलौना छ, कविता पढ़्दा आङ्ग जिरिङ्ग हुने, मुख सुकेर आउने भावनाले ओतप्रोत छन् । यस कविताकी कवि हुन् पिता श्री कृष्ण उपाध्याय र माता श्रीमती कमलादेवी उपाध्यायका कोखबाट सन् १८अक्टोबर १९७६–मा उदालगढ़ी, आसाममा जन्मिएकी कवि श्रीमती दुलुमणिदेवी उपाध्याय । कविको जन्म एउटा शिक्षित, सभ्य र साहित्यमय वातावरणमा भएको अनुमान उनका कृतिबाट लाउन सकिन्छ । विद्यार्थी अवस्थादेखि नै पुस्तक पढ़्ने र मनमा आएका आफ्ना भावनाहरू डायरीमा उतारेर राख्ने बानी थियो उनको । आफ्नो मातृभाषा नेपाली भए तापनि सानैदेखि असमीया भाषामा शिक्षा आर्जन गरेकी कविले आफ्नो मातृभाषालाई पनि व्यक्तिगत रूपमा सँगै अध्ययन गरेकी हुनपर्छ, उनले लेखेका लेखहरूले छर्लङ्ग देखाएको छ ।
कविका कविता पढ्दा लाग्छ “एउटा घाम मृत्यु सहेर बाँचिरहेछ “ उनको पहिलो कृति होइन। उहाँले दर्जनौं कृतिहरू उनले प्रकाशित गरिसकेकी हुनपर्छ । तर होइन कतै लेखेर थन्क्याउनुभएको छ भने अर्को कुरा, प्रकाशित कृतिमा भने “एउटा घाम मृत्यु सहेर बाँचिरहेछ“ उनको पहिलो कवितासङ्ग्रह हो। उनको कलमले सशक्त भावना कवितामा पोखेको पाइन्छ –

“ हुन्छौ नै भने तिमीहरू
महादेवका काँधमा बोकिएकी
अग्निले जलेको सतीदेवीको मृत शरीर
भइदिए हुन्छ मलाई
जहाँ जहाँ झरे उनका अङ्गहरू
त्यहाँ त्यहाँ बनिंदै गए धर्मस्थानहरू
त्यसैले म भन्छु
जहाँ जहाँ झर्छौ तिमीहरू
त्यहाँ त्यहाँ उज्यालोको छाप छोड़्दै जाउ।“
– मेरा शब्दहरूबाट

कविको जन्म पनि पवित्र कामख्या धाम आसामको काखमा भएको छ, जहाँ देवादिदेव महादेव पतिदेवको अवहेलना सहन नसकेर सतीदेवीले आफ्नै पिताजी दक्षप्रजापतिको होम धर्मकुण्डमा हामफालेर प्राण उत्सर्ग गरेपछि पत्नी वियोगमा सतीदेवीको मृत शरीर बोकेर हिँड्नुभएका महादेवका काँधबाट झरेका सतिदेवीका मांसपेशीहरूबाट उत्पत्ति भएका धर्मस्थानमध्ये सतिदेवीको योनी झरेको ठाउँमा बनिएको पवित्र कामख्या धाम हो भन्ने किंवदन्ती भएको ठाउँ हो यसैले कविले पनि शब्दहरूलाई प्रतीक बनाएर तिमीहरू जहाँ जहाँ झर्छौ त्यहाँ त्यहाँ उज्यालो लिएर झर ताकि शिक्षाको उज्यालो नपुगेको हाम्रो समाजको कुना कुनामा यी शब्दहरू शिक्षा बनेर झरुन् अनि हाम्रा भविष्यका कर्णधारहरू सजिलै उभिन सकुन् ।

लखिमपुर, बिहुपुरीया, दङ्गिबिल, आसामबाट बीए, अनर्स ; डीएलएड गरेकी कवि पेशामा कुशल शिक्षिका हुन् । उदालगढ़ीका नेपाली भाषा सङ्ग्रामी एवम् तीन दर्जनभन्दा ज्यादा कृतिका वरिष्ठ साहित्यकार स्वर्गीय तारापति उपाध्यायका जेठा सुपुत्र श्री चन्दन भट्टराई उपाध्यायसँग वैवाहिक बन्धनमा बाँधिएर कुलबधू बनेर भित्रिएपछि उनलको साहित्यिक यात्रा अझ फराकिलो भएर गएको बुझिन्छ ।

कविता सङ्ग्रहको शुभेच्छामा वरिष्ठ साहित्यकार तारापति उपाध्याय लेख्छन्,– “एउटा घाम मृत्यु सहेर बाँचिरहेछ “ हाम्री जेठी बुहारी दुलुमणिदेवीको पहिलो प्रकाशित काव्यकृति हो। काव्य ग्रन्थको नाम अनुसार निज जीवनमा हठात परिआएको दुःखद घटनाले पीडÞित भएर, “मनको व्यथा कोसित भनौं“ पखेटा भए पनि उड़ेर कतै जानु“ झैँ पचासवटा गद्य कविता तिनले यहाँ सन्माविष्ट गरेकी छन्। साथसाथै समयमा लागेको चोट समयले मेटाउँछ भन्दै स्वयंलाई शान्त राख्ने आँट पनि गरेकी छन् ।

सुखले मात्र जीवन बनेको छैन। सुख– दुःख दुवै सन्निहित छन् प्राणीमा । आपद विपद भोग्दै, हार नमानी निस्फिक्री रूपमा कर्म गर्दै जाने नरनारीले नै जगत् उज्यालो पारेका छन्। जीवनको उत्थान बढ़ाएका छन् । निश्चिन्त समाज अनि भाषा– साहित्य सेवाको कर्ममा अघि बड़्दै जाऊन्, बुहारी आन्तरिक शुभेच्छा छ ।”
यी शुभकामनासहित आशीर्वादका प्रत्येक शब्दबाट थाहा हुन्छ कवि निकै ठूलो चोट बोकेर यस पावन धरतीमा हिँडÞिरहेकी छन् ।

“ हो म ठिकै छु
ठिकै हुनुपर्दोरहेछ बाध्यतामा
अरूको लागि भए पनि।“
– मनको आवाजबाट

यी कविताका हरफहरूले कविको वास्तविक जीवन छर्लङ्ग पार्न सफल भएका छन् । गलेको मनलाई चट्टान पारेर शोकलाई शक्तिमा बदल्न सक्ने हिम्मत भएकी कवि हुन् दुलुमणि उपाध्याय ।

करिब एकसय बाह्र पृष्ठको कवितासङ्ग्रहमा वरिष्ठ साहित्यकार डा. इन्दुप्रभादेवीको गहन भूमिका छ, कविले कविता रच्नुका दुईवटा मुख्य कारणहरू उक्त कवितासङ्ग्रहमा प्रकाशित कविताहरूमा स्पष्ट देखिन्छन् । आफैंलाई खोज्ने र आफ्नो समयको इतिहास लेख्ने प्रबल इच्छामा दुइ समाज, जाति र निर्धा निमुखा जनप्रति रहेको सह–धर्मिता र अभिभाराको बोध यी दुइ मुख्य कारणले शब्दसित मितेरी गाँस्तै कवितारूपि मालालाई कवि दुलुमणि जमरा र दुबो हुन खोज्छिन्। कसैको मनको साहस र प्रेरणाको स्रोत बन्न चाहन्छिन्, यद्यपि मन भित्र फुटेको छ, जीवन टुटेको र दैवले भाग्य लुटेको करुण अनुभव छ र पनि जीवनको युद्धमा अपराजिता बन्न चाहन्छिन् कवि । मनको आवाजमा आफ्नो इतिहास कवितामा लेख्नु छ उनले । पाइलापाइलामा झर्झरी बलेको कोइला टेकेर हिँड्नुपर्ने स्थितिमा उनको मनलाई पुरानो पुस्ताको मादक पदार्थको वास्नाले छोएको छ । पुरानो सन्दुकमा राखिएका पुस्तकहरूमा वासना यति गहिराइमा पसिसकेको छ, उनको कठोर वर्तमानको सहारा भएर छरेको छ र नै कविले मनमा गुम्सिएका शब्दहरूलाई उदगारको प्रयास गरेकी छन् । वैभवको यातना बारम्बार जीवनमा आए तापनि प्रेमलाई नै विजयी घोषणा गरेर बसेको ठान्छिन् उनी । नारीको सहनशक्तिको अद्भुत उदाहरण भएर उभिएकी छन् उनी । उनले आफ्नो एउटा कवितामा लेखेकी छन्,–

“कुनै मृत्युले कमजोर बनाउन नसकोस् हाम्रो प्रेम,
याद गरोस् समयले फेरि पनि हाम्रो जोड़ीलाई
र भनोस् प्रेमलाई
सक्दोरहेन छ हराउन मृत्युले पनि प्रेमलाई। “
कविता मृत्युबाट–
डा. इन्दुप्रभादेवीको भूमिकाबाट“

“एउटा घाम मृत्यु सहेर बाँचिरहेछ,” कविता कविले २०२३–मा नेपाली साहित्य परिषद्, सिक्किमद्वारा आयोजित “भानुजयन्ती समारोह राष्ट्रिय कविता प्रतियोगिता“मा सम्प्रेषण गरेकी थिइन, उक्त कविताले राष्ट्रिय स्तरमा सर्वश्रेष्ठ दशभित्र पर्न सफल बनेपछि कविले कवितासङ्ग्रहको शीर्षक नै राखिएको हो भन्न सकिन्छ, किन भने कलमलाई जोश र जाँगर आफ्नै सृजनाले भर्छ । उक्त कविताले उनलाई आफ्ना भावनाहरू कृतिको आकारसम्म पु–याउन मद्दत गरेको छ। “छेपारो“ शीर्षकको कविताले “इन्द्रेणी प्रकाशन, आसाम“,– द्वारा २०२१ मा आयोजित राज्यस्तरीय कविता प्रतियोगितामा पनि तृतीयस्थान प्राप्त गर्न सफल भएको थियो।

“एकएक गरेर प्रत्येक रात
सौर मण्डलका आकाशगङ्गाबाट
झरेर हराउने नक्षत्रहरू झैँ
मेरो मानसपटलमा रहेको एक नक्षत्र पनि
क्रमशः हराउँदै गइरहेछ
यो हराउनुभित्र
एउटा सिङ्गो घाम छटपटाइरहेछ।
– एउटा घाम मृत्यु सहेर बाँचिरहेछ ।

यी शब्द शब्दहरूमा उनको जीवनमा आइपरेका उतारचढ़ाव र पोख्न नसकेका बेदनाका खातहरू एक एक गरेर झरेको झलझली देखिन्छ। कवि कवि मात्र पनि होइनन्, कवि परिवारकी रवि पनि हुन्, आफू अँध्यारो भएर पनि परिवार, आफन्त र इष्टमित्रका निम्ति उज्यालो बनेर हिँडÞिरहेकी छन् ।
दुलुमणिदेवी कवितामा मात्र सीमित छैनन्, उनको कलम कथा, समालोचना, निबन्ध आदिमा पनि त्यतिकै धाराप्रवाह बग्ने गरेका छन् । देशविदेशबाट प्रकाशित भएका उनका रचना साक्षी छन् । बहुप्रतिभाकी धनी कवि बहुभाषी कवि हुन् । उनले हिन्दी र असमिया भाषामा पनि कविता लेखेकेकी छन् । उनी नेपाली, हिन्दी, असमिया र अङ्ग्रेजी भाषामा बराबर कलम चलाउन सक्ने बहुभाषाकी धनी छन्, उनको विलक्षण प्रतिभा देखेर आफ्ना सहोदरहरू चकित छन् । आयोजित कार्यक्रमतिरको सहभागिता उनको सार्थकता हो ।

इन्द्रेणी प्रकाशनले प्रकाशित गरेको “तीज“ पत्रिकाको, महिला विशेषाङ्कमा सम्पादकको काम गरिसकेकी कवि दुलुमणिदेवी एक दर्जनजति विभिन्न सङ्घ संस्थासँग पनि आवद्ध छन् । असम नेपाली साहित्य सभा, ओदालगढ़ी शाखाकी सभापति, असम नेपाली साहित्य सभा, ओदालगढ़ी जिल्ला महिला प्रकोष्टकी साहित्य सचिव, असम साहित्य सभाकी उनी आजीवन सदस्य अनि असम कवि समाजको पनि उनले आजीवन सदस्य ग्रहण गरेर पवित्र शिक्षण पेशाबाट बचेको समय उनले साहित्यमा समर्पित गरेकी छन् ।

उक्त कृतिलाई शुभकामना दिने क्रममा आसाम नेपाली साहित्य सभा, उदालगढ़ी जिल्ला समितिका सभापति÷आसाम नेपाली साहित्य सभाका तत्कालीन केन्द्रीय साहित्य सचिव श्री लक्ष्मण अधिकारी लेख्छन्,– “दुलुमणिदेवी उपाध्यायमा ननिदाएको कवित्व जागृत छ र नै उनको भावना प्रखर भएर उदायो “एउटा घाम मृत्यु सहेर बाँचिरहेछ” कविता । कविता “अबला“ छोटो छ तर कविता भएर भरपूर भावना बोलेको छ। कृतिभित्रका अन्य कविताहरू पनि तैँछाड़ र मैछाड़ गर्दै पठनीय र मननीय भएर अगाडÞि आएका छन् । कुन भन्दा कुन कम भनेर आकलन गर्न वा औँला उठाउन नसक्ने गरी पोखिएका छन् कविका भावना कवितामा ।

कविले आफनो आत्मापक्षमा खुलस्त भनेकी छन्, “मैले रहरले कविता लेखिनँ। मेरो मनको गहिराइबाट उकुसमुकुस भएर निस्किएका शब्दहरू नै कविता भएका हुन् तर यी भावनाहरू साँचो अर्थमा कविता भए या भएनन् पाठक र आलोचकले मूल्याङ्कन गरिदिनुहुनेछ, आशामुखी छु ।“ कविले जिम्मा लगाएकी छन्। समाजमा भइरहेको व्यभिचार, अन्याय, अत्याचार, पीड़ा, समवेदना, सम्वेदना, नारी उत्पीड़न, सौन्दर्यबोध, माया, प्रेम, आत्मीयता, मानवधर्म, सहिष्णुता र समाधान नै उनका कविताका पृष्ठभूमि हुन्। यहीँबाट छर्लङ्ग बुझिन्छ कविको मनको कोमलता, सहनशीलता र कविमन । उनी बरू आफू एक्लै दुख्छिन् तर समाजभित्र दुखाउँदिनन् । देश र समाजमा बढ़ेको व्यभिचार, अन्याय र अत्याचारमा कवि कलमको माध्यमबाट बिरोध गर्छिन् ।
उक्त कवितासङ्ग्रहमा कविका एकान्नवटा कविताहरू बोलेका छन् ।

आमाको न्यानो काखमा बसेर
ब्रम्हाण्डसरी विशाल मुहारमा
आमाका स्पन्दित ओठहरूलाई
अनुकरण गर्दै मैले सिकेको
भाषा नै मेरो परिचय हो,
मेरो जातीयता हो।
– मेरो भाषा

विद्वान् लेखक गुरुवर डा कुमार प्रधानले लेखेको कुरा कतै पढ़ेकी थिएँ, “मैले सपना देख्ने मेरो भाषा, साउतीको मेरो भाषा, ऐठन पार्दा चिच्याउने मेरो भाषा, विरोध गर्दा कराउने भाषा, आमाको गर्भमा हुँदा सुनेको मेरो मातृभाषा नेपाली हो,“ यसरी नै कवि दुलुमणिदेवीले पनि आफ्नो मातृभाषालाई माया र श्रद्धा गरेर साहित्यमा उतारेकी छन् । आसाम यस्तो राज्य हो जहाँ नेपाली भाषाका पुस्तकहरू कम पाइन्छन् । विद्यालयहरूमा पनि नेपाली अपवादमा पढ़ाइन्छ तर नेपाली पुस्तकहरू जहाँ प्रचुररूपमा पाइन्छ त्यहाँ पढÞिंदैन जहाँ यदाकदा पाइन्छ तर त्यहाँ खोजीखोजी पढÞिन्छ । आसामका नेपालीहरूबाट अन्य प्रान्तमा बस्ने नेपालीहरूले मातृभाषाप्रति गरेको योगदानको अनुकरण गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।

कविले आफूमाथि आइपरेको वज्रपात मुटुभित्र लुकाएर शक्तिका रूपमा कलमको तरवार बनाएर भाषा–साहित्यको मैदानमा दह्रो उत्रिएकी छन्, उनको कवितासङ्ग्रह पढ़ेपछि छर्लङ्ग देखिन्छ । कविता एक एक अक्षर र शब्दहरू भएर आफैँ बोलेका छन् । कवि दुलुमणिदेवीका कविताहरूमा विद्रोह बोलेका छन्, चेतना दर्शाएका छन् अनि तह नमिलेको हाम्रो समाजलाई खबरदार गरेका छन्, उनका कविताले न्याय पाउने छन् । कलम ब्रह्मपुत्रजस्तै अविरल बगिरहोस् अनि आम पाठकले पवित्र साहित्यरूपि जलको रसास्वादन र चुस्की लिइरहन पाइरहुन्, हार्दिक शुभकामना !


गीताश्री शर्मा, गान्तोक, सिक्किम
ओदालगढ़ी, लाचित रोड़, वार्ड नं १, बिटिआर, आसाम