काठमाडौँ ।
‘टुक्का साहित्य समाज’ ले तीन टुक्का कवितासङ्ग्रह ‘रश्मिपुञ्ज’, ‘टुक्काको मुक्का’, र ‘नारी टुक्का कवितासंग्रह’ को लोकार्पण गरेको छ । नेपाल प्रज्ञाप्रतिष्ठान काव्य विभाग प्रमुख बाबा बस्नेतको प्रमुख आतिथ्य तथा टुक्का साहित्य समाजका कोषाध्यक्ष होमप्रसाद नेउपानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । साहित्यकार प्रमोद नेपालको चौथो कृति ‘रश्मिपुञ्ज’, भारत र नेपालका छत्तीस नारी स्रष्टाको संयुक्तसङ्ग्रह ‘नारी टुक्काकविता’ र भारतका टुक्काकार रतन पाण्डे ‘पारतन’ को कृति ‘टुक्काको मुक्का’ लोकार्पण गरिएको हो ।
टुक्का साहित्य समाजकी सदस्य शोभा आचार्यले शब्द मार्फत उपस्थित जनलाई स्वागत गरेकी थिइन् । ‘रश्मिपुञ्ज’ लगायतका उपर्युक्त कृतिहरू प्रमुख अतिथि बस्नेत, साहित्यकारहरू रामप्रसाद पन्त, किरण आचार्य, अरुण खत्री, ’नदी’, राजेशराज गड्तौला र दार्जिलिङकी साहित्यकार हन्नाह क्षेत्रीले लोकार्पण गरेका थिए । उक्त कार्यक्रममा टुक्काकविता लेखन अभियानमा विशिष्ट योगदान पु¥याएबापत ‘रश्मिपुञ्ज’ कृतिका सर्जक प्रमोद नेपाललाई ’टुक्का साहित्य समृद्धि सम्मान २०८२’ अर्पिएको थियो।
त्यसैगरी ’नारी टुक्का कविता’ संयुक्तसङ्ग्रहको संयोजक दार्जिलिङकी साहित्यकार हन्नाह क्षेत्रीलाई अन्तर्राष्ट्रिय स्तरमा सर्जकहरूलाई एकताको सूत्रमा आबद्ध गरेबापत ‘टुक्का साहित्य समृद्धि अन्तर्राष्ट्रिय सम्मान २०८२’ अर्पिएको थियो । प्रमुख अतिथि बाबा बस्नेतले टुक्का कविताले पाठक वर्गको मन जितिरहेको भन्दै प्रज्ञाप्रतिष्ठान यस्ता विधाको प्रवद्र्धनमा सकारात्मक रहेको बताइन् । विशिष्ट अतिथि रामप्रसाद पन्तले प्रमोद नेपालको ’रश्मिपुञ्ज’ को प्रकाश पार्दै टुक्का जस्ता कविताको उपविधा साहित्यका अन्य विधासँगसँगै गएमा नेपाली साहित्यको उन्ननयनमा सहयोग पुग्ने बताए ।
प्रमोद नेपालले दायित्व पत्रिकामा २०४४ सालदेखि कविता आदि लेख्दै आएको बताए । अर्का विशिष्ट अतिथि किरण आचार्यले ’नारी टुक्काकविता’ को टिप्पणी गर्दै नारीहरूले संयुक्तसङ्ग्रह निकालेकोमा खुशी व्यक्त गर्दै बधाई दिएकी थिइन् । दार्जिलिङकी साहित्यकार हन्नाह क्षेत्रीले भारतमा टुक्का कविताको लेखन अभियान र रतन पाण्डे ‘पारतन’ को चर्चा गरेका थिए । टुक्का सहित्य समाजका महासचिव चुडा निर्भीकले सञ्चालन गरेको कार्यक्रममा साहित्यकाहरू अरुण खत्री, मदन नेपाल, वसन्तराज अज्ञात, राजेश गडतौला प्राडा जनार्दन आचार्य, इन्दु श्रेष्ठ, सरोज नेपाल, सानुराजा अञ्जान, रेणु अधिकारी ’मौनता’, घन थापा, पवनकुमार बुढाथोकी, जमुना आचार्य, बेदु न्यौपाने, रामशरण न्यौपाने, शोभा आचार्य लगायतको उपस्थिति थियो।
कार्यक्रमको आयोजनामा पुतलीसडकस्थित ग्रिनलिफ फुडल्याण्ड क्याफेमा भएको थियो।
