• २०८१ असोज २४ बिहीबार

यो सुतेर बिताउने समय होइन

रमण घिमिरे

रमण घिमिरे

सम्झनूस्–
तपाईं ध्यानमा हुनुहुन्छ
अझ पट्ट्यार लागे
ठान्नूस्–
तपस्यामा बस्नुभएको छ

यो सत्य हो
जसरी पनि समय गुजार्नु छ
तर यो समयलाई
गतिशील मोडबाट गुजार्नु पनि छ
त्यसैले उपाय आफैँ खोज्नूहोस्

टिभीमा सिनेमा हेर्नूस्, समाचार हेर्नूस्
किताब पढ्नूस्, गीत सुन्नूस् या कथा–कविता–उपन्यास लेख्नूस्
भाजुभाइ, दिदीबहिनीलाई फोन गरेर
सन्चोबिसन्चो सोध्नूस्
या आमाबासँग बसेर
उहाँले बिताएका सङ्घर्षका गाथा सुन्नूस्
नेटमा पुराना साथीहरूसँग सम्पर्क गरेर
सुख–दुःख बाँड्नूस्
या कौसीबाट हात हल्लाएर छिमेकीको हालचाल बुझ्नूस्

ठान्नूस्– यो तपाईंले पाएको अवसर हो
यो तपाईंले बिताएको महŒवपूर्ण
भावी इतिहास हो

भौतिक बन्दी मात्र हुनुभएको हो तपाई
मनका अनेकौँ बाटाहरू खुलै छन्
तपाईंलाई सोच्न कसैले रोक्तैन
आफ्नो बारेमा सोच्नूस्
आफन्त, इष्टमित्र र छिमेकीका बारेमा सोच्नून्
आफूले गरेका गल्तीबारे सोच्नूस्
आफूले बिझाएकाहरूका बारेमा सोच्नूस्
यतिबेला, नितान्त एक्लो भएको बेला
मनमनै पश्चात्ताप त गर्नसक्नु हुन्छ नि
त्यो पनि गर्नूस् !

बाहिर के भइरहेछ त्यो नसोच्नूस्
तपाई भित्र के भइरहेछ, त्यो खोज्नूस्
यो आफैँले आफूलाई
चिन्ने, बुझ्ने र खुट्ट्याउने
सबैभन्दा उपयुक्त समय हो
यो सुतेर बिताउने समय होइन
आफूभित्र सुतेकोलाई ब्यूँताउने समय हो