• २०८२ फाल्गुन १, शुक्रबार

साहित्यकार जितेन्द्र रसिकको अठारौं कृति ‘साइबोर्ग’ लोकार्पण

काठमाडौँ ।

साहित्यकार जितेन्द्र रसिकको अठारौं कृति बालउपन्यास ‘साइबोर्ग’ लोकार्पण भएको छ। बुधबार इर्टनल पब्लिकेसनका प्रकाशक यमुना पराजुली र एजुकेशन पब्लिसिङ बुकहाउस काठमाडौं जमलका प्रतिनिधि तथा व्यवस्थापकहरू शितल सुकुभटु, रमण राउट, भजन राउट लगायतले उपन्यास लोकार्पण गरे ।

साइबोर्ग उपन्यास साहित्यकार जितेन्द्र रसिकको विज्ञान उपन्यास हो। यो उपन्यासमा विज्ञानको उन्नतिले भविष्यमा कस्तो अवस्था सिर्जना हुन सक्छ भन्ने सुन्दर परिकल्पना समेटिएको प्रकाशक यमुना पराजुलीले बताइन् ।प्रविधिहरू, खासगरी आर्टिफिसिलय इन्टेलिजेन्सको चरम विकास हुँदै जाँदा भविष्यमा त्यसले मानव समुदायमाथि नै धावा बोल्ने त होइन भन्ने आशंकालाई यो उपन्यासले रोचक ढंगले उठाएको छ। के विज्ञानले मानिसलाई कहिल्यै नमर्ने बनाउन पनि सक्दछ भन्ने प्रश्नको पनि यसले तर्कसम्मत सम्भावनाहरू देखाएको पराजुलीको भनाइ छ ।

बालबालिका र किशोरकिशोरीमा कल्पना, जिज्ञासा र तर्कशीलता बढाउन यो पुस्तक प्रभावकारी बन्ने उपन्यासकार रसिकले बताए । यो बालउपन्यासको मूल्य २५० रुपैयाँ छ । लोकार्पणसँगै बालउपन्यास साइबोर्ग एजुकेशनल पब्लिसिङ बुक हाउस, रत्नपुस्तक भण्डार लगायतबाट उपन्यास बिक्री थालिएको छ । इर्टनल पब्लिकेसन्स र एजुकेश्नल पब्लिसिङ बुक हाउसले सहकार्य थालेको हो ।

स्रष्टा रसिकका एलियनको पृथ्वी भ्रमण (बालकथासङ्ग्रह), हावा फल्ने रूख (सचित्र बालकथा), एङ्ग्री बर्ड (बालकथासङ्ग्रह), बेलबहादुरसँग बिहे (सचित्र बालकथा), गुलेली (बालकथासङ्ग्रह), हनुमानको करामत (सचित्र बालकथा), जाडुगर एआई (सचित्र बालकथा) प्रकाशित छन् । रसिकको उपन्यास, गजल, संस्कृति, जीवनी लगायत विधामा ११ कृति प्रकाशित छन्। उनका १ दर्जन जति गीतगजल पनि रेकर्ड भइसकेका छन् । उनी नेपालभाषा संस्कृति र साहित्यको क्षेत्रमा पनि उत्तिकै क्रियाशील छन् ।