• २०८२ माघ २९, बिहीबार

उजय शाक्यको पुस्तक ’ब्रांडसूत्र २.०’ सार्वजनिक

काठमाडौँ ।

अनुभवी ब्रान्ड मार्केटिङ प्रोफेसनल उजय शाक्यको नयाँ पुस्तक ‘Brandsutra २.०’ नेपाली बजारमा सार्वजनिक भएको छ । पुस्तकले मार्केटिङ र ब्रान्ड निर्माणसम्बन्धी व्यावहारिक अनुभवमा आधारित छ, जसले नेपाल तथा दक्षिण एसियाली बजारको वास्तविकता उजागर गर्छ ।

आउटरिच नेपालका संस्थापक समेत रहेका शाक्यले पुस्तकमा ब्रान्ड कसरी बढ्छ, कसरी सान्दर्भिक रहन्छ र कहिलेकाहीँ किन असफल हुन्छ भन्ने विषयलाई सरल र व्यवहारिक ढंगले प्रस्तुत गरेका छन् । उनका अनुसार, ब्रान्ड निर्माण छोटो बाटो नभई दीर्घकालीन सोच, सांस्कृतिक सन्दर्भको बुझाइ र जिम्मेवार अभ्यासमा आधारित हुनुपर्छ । पुस्तकले ‘ब्रान्ड संरक्षण’को अवधारणामा विशेष जोड दिन्छ ।

पुस्तकका सम्पादक प्रो. उज्ज्वल के.चौधरी हुन्, जो दक्षिण एसियामा शिक्षा र सञ्चार क्षेत्रमा अनुभवी व्यक्तित्वका रूपमा परिचित छन् । पुस्तकले मुख्यतः युवा मार्केटिङ प्रोफेसनल, विद्यार्थी, उद्यमी, व्यवसायी तथा ब्रान्ड लिडरहरूका लागि उपयोगी मानिएको छ। यसले रणनीतिभन्दा अघि दृष्टिकोणलाई महत्त्व दिँदै पोजिसनिङ, सान्दर्भिकता, विश्वास, सृजनशीलता र दीर्घकालीन ब्रान्ड निर्माणबारे स्पष्ट सोच विकास गर्न सहयोग गर्ने शाक्यले बताएका छन् ।