संस्मरण
काठमाडौँ ।
प्रजातन्त्रका सेनानी तथा नेपाली लोकसंस्कृतिका अग्रपुरुष कालीभक्त पन्तको ३४औं वार्षिक स्मृति दिवसको अवसरमा प्रदान गरिँदै आएको कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष देउडा लोकसंस्कृतिका अग्रणी स्रष्टा नन्दकृष्ण जोशीलाई प्रदान गरिने भएको छ ।
दशकौंदेखि नेपाली लोकगीत, संगीत र साहित्यको क्षेत्रमा निरन्तर सक्रिय जोशी विशेष रूपमा पश्चिमी नेपालको लोकसंस्कृतिमा देउडाका नायकका रूपमा परिचित छन् । उनका कयौं देउडा गीतले नेपाली लोकसंगीतलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान पु¥याएका छन् ।
यस पुरस्कारबाट पहिलो पटक संस्कृतिविद् सत्यमोहन जोशी पुरस्कृत भएका थिए भने दोस्रो पुरस्कार लोकगीत–संगीतको प्रवर्धनमा योगदान पुर्याउने कृष्ण कँडेलले प्राप्त गरेका थिए । त्यसपछि क्रमशः तुलसी दिवस, चूडामणि बन्धु, कुमार बस्नेत, आन्ना स्टिफर र प्रेम छोटा यस पुरस्कारबाट सम्मानित भइसकेका छन्। यस वर्ष नन्दकृष्ण जोशी चयन भएका छन् ।
कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कारका अन्तर्राष्ट्रिय संयोजक बोष्टन, अमेरिका निवासी महेश्वर पन्त रहेका छन् । प्रतिष्ठानका अध्यक्ष प्राडा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पुरस्कार काठमाडौंको मैतीदेवीस्थित जिपी तिमिल्सिना फाउन्डेसनको सभाकक्षमा आयोजना गरिनेछ । सो अवसरमा प्रतिष्ठानद्वारा अन्य पुरस्कारको घोषणा गर्नुका साथै नेपाली लोक सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने जनाइएको छ ।
