• २०८२ माघ २६, सोमबार

चियासँग कविता कार्यक्रम एक वर्ष पूरा

धनकुटा ।

धनकुटाको पहिलो सामुदायिक रेडियो धनकुटा एफएमको संयोजनमा सञ्चालन हुँदै आएको ‘चियासँग कविता’ कार्यक्रमले एक वर्ष पूरा गरेको छ ।
छोटो समयमै कार्यक्रमले स्थानीय साहित्यिक गतिविधिलाई चलायमान बनाउँदै सर्जकहरूलाई नियमित रूपमा भेटघाट, कविता वाचन र सिर्जनात्मक संवादको साझा मञ्च उपलब्ध गराएको आयोजकले जनाएको छ ।

धनकुटामा सुस्ताउँदै गएको साहित्यिक माहोललाई पुनः जागृत बनाउन कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै ‘चियासँग कविता’ ले साहित्यिक विकास र नयाँ प्रतिभा पहिचानमा निरन्तर काम गरिरहेको छ ।यही यात्राको एक वर्ष पूरा भएको अवसरमा पहिलो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाइने भएको संचालक गोपाल बराइलीले बताए ।

आयोजकका अनुसार वार्षिकोत्सवका अवसरमा १५ हजार राशिको ‘चियासँग कविता धनकुटा साहित्य रत्न पुरस्कार’, ५ हजार राशिको ‘युवा साहित्य पुरस्कार’, ५ हजार राशिको ‘नव प्रतिभा पुरस्कार’ र ५ हजार राशिको ‘पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ। साथै, सुरुदेखि कार्यक्रममा सहभागी सर्जक तथा विभिन्न रूपमा सहयोग गर्ने सहयोगीहरूलाई पनि सम्मान गरिने बराइलीले जानकारी दिए ।