• २०८२ माघ २५, आईतवार

फर्पिङमा संयुक्त बृहत् कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं ।

राजधानीको दक्षिणी भेग फर्पिङको पानीपोखरीमा संयुक्त बृहत् कविता वाचन कार्यक्रम सम्पन्न गरिएको छ । सुसेली साहित्यिक प्रतिष्ठान, शब्दाङकुर, वर्तमान कविता समूह र शब्दपथले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा काठमाडौं, भक्तपुर र ललितपुरका स्थापित कविहरूको उपस्थिति थियो ।

शनिबार (माघ २४) सम्पन्न उक्त कार्यक्रममा कविहरू कृष्ण कँडेल, विश्व सिग्देल, चन्द्रबहादुर लामा, कृष्णकुमार श्रेष्ठ, गोविन्दबहादुर खड्का, चन्द्रलाल तामाङ, विनोद खत्री, दीपक लोहनी, धन्वन्तरी मिश्र, नवीन्द्रराज पाण्डे, नारायण तिवारी, प्रमोद प्रधान, बालकृष्ण श्रेष्ठ पासा, मुरारि सिग्देल, रजनी खत्री, रमेश बलामी, राजेन्द्र शलभ, रामगोपाल आशुतोष, अच्युत घिमिरे, राजाराम राउत, विधान आचार्य, विश्वनाथ वाग्ले, विश्वविमोहन श्रेष्ठ, विष्णुविभु घिमिरे, शेखर अर्याल, सञ्जय सुमन, सविता केसी बोहरा, सरिता बलामी, सुभाषचन्द्र पौडेल भीमफेदीया, सुशान्त केसी, स्नेही शिव, रामराजा केसी, धीरकुमार श्रेष्ठ, रमी प्रिया, डा. शेखरकुमार श्रेष्ठ, भोगेन्द्र लिङ्देन र किशोर पहाडीले आफ्ना काव्य रचना वाचन गरेका थिए ।

आयोजक संस्था शब्दपथका प्रधानसम्पादक साहित्यकार किशोर पहाडीले कार्यक्रम गरेर आफ्नो एउटा सपना पूरा भएको बताए । उनले भने, “यस ऐतिहासिक स्थानमा स्रष्टा पदयात्रासहित रचना वाचन गर्ने सपना केही वर्ष पहिलादेखिकै हो । हाम्रो उमेरका मित्रहरू हिँड्न गाह्रो मान्ने भएकाले सवारीसाधनमै आएर भएपनि कार्यक्रम सम्पन्न भएकोमा खुसी लागेको छ ।”