• २०८२ माघ २५, आईतवार

लघुकथा समाज नेपालद्वारा शर्मा र ढकाल सम्मानित

काठमाडौं ।

लघुकथा समाज, नेपालले दुई सर्जकलाई सम्मानित गरेको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा समाजले कथाकार डा. दीनबन्धु शर्मालाई ‘सावित्री–केशर कथा सम्मान–२०८२’ बाट सम्मानित गरेको छ । लघुकथाकार त्रिलोचन ढकाललाई ‘बाटुली–खिलध्वज लघुकथा सम्मान-२०८२’बाट सम्मानित गरेको छ ।

कार्यक्रममा साहित्यकार अशेष मल्लले दुवै सर्जकलाई सम्मानपत्र प्रदान गरे । सम्मानित सर्जकहरूलाई नगद राशि पनि प्रदान गरियो । प्रमुख अतिथि मल्लले आजको समयमा लघुकथाको महत्व रहेको बताउँदै यसको स्तरीयतामा ध्यान दिन लेखकहरूसँग आग्रह गरे । उनले लघु चलचित्रका लागि लघुकथा उपयुक्त हुने भएकोले दुवै समूहबीच अन्तरक्रिया हुनुपर्नेमा जोड दिए ।

प्रा. डा. लक्ष्मणप्रसाद गौतमले दुवै सम्मानित साहित्यकारहरूको साहित्यिक क्रियाशीलताको चर्चा गर्दै तिनको लेखन प्रवृत्तिको चर्चा गरे । सम्मानका संस्थापक साहित्यकार हरि थापाले आफ्ना मातापिता र पत्नी भैरवी थापाको मातापिताको नाम होस् भनेरै सम्मानको स्थापना गरेको बताए ।