मलाई फूलसँग फुल्ने मन छ
मलाई जूनसँग रम्ने मन छ
प्रिय,
तिमी नजाऊ छोडेर,
के तिमीले
मेरो ओठमा
मुस्कुराइरहेको सगरमाथाको
माया देखेनौ !
ती बुद्धका पाउले टेकेका
शान्तभूमि देखेकौ !
मलाई यी सबैको
औधी माया छ
मलाई फुल्नु छ यतै,
मलाई रम्नु छ यतै
मलाई बाँच्नु छ यही माटोमा
तिमी,
मेरो अस्तित्वलाई
किस्ता-किस्तामा
बेचेर नाङ्गो बनाउने बाटोमा
मार्गदर्शक भइरहेका,
मेरो सुन्दर अस्तित्वलाई
निमिट्यान्न पार्न खोज्ने
यी शक्ति पिपासु महारथीको भरमा,
मलाई छोडेर नजाऊ
तिमी आऊ !
मेरो सुन्दर मुस्कानसहितको
शान्त आश्रय दिन
तिमी आऊ !
मलाई मेरो अस्तित्व
नबेचिँदै आफैँ भई
उभिन सक्ने बनाउन
एउटा विशाल, शान्त, सुरम्य
नेपाल भई चिनाउन
बिन्ती प्रिय ! तिमी आऊ !!
(कञ्चनपुरनिवासी चन्द नवोदित स्रष्टा हुन्)
[email protected]