• २०८२ माघ २३, शुक्रबार

गुरुजी !

-धनराज गिरी

-धनराज गिरी

मनमा कुरा त खेल्छ, मान्छे हो, म समय, म पनि मान्छु सान्दाजुलाई, “मान्छे ब्रेडले मात्र होइन ब्रेनले पनि चल्छ !” म समय, “अन्धे का पुत्र अन्धा !” त्यो युगको कुरा, काल्पनिक भए पनि, यसले दुर्योधनको स्वाभिमानमा नराम्रो चोट परेको थियो, र के भयो ? जगजाहेर । अहङ्कारीको स्वाभिमान खतरनाक हुन्छ। म समय, मेरो पात्र प्रोफेसर “केलादीराज दाबिलेप्रसाद चितवनेश्वर आशुतोष महादेव कलाकारोपाध्याय गजलश्री बलरामपुरे” को मन छाम्दै छु । ऊ पुग्यो कविवर “गौरीराम जुनियर गीताकान्त शालुरोपाध्याय नरमश्रीको” काखमा । कथाको शुभारम्भ :

“नमन गुरुदेव !” प्रोफेसर ।
“आहा, नमन नमन ! म गुरु कि हजुर ? ठीक छ ठीक छ !” गौरीराम ।
“गुरुजी, हजुर नभए त म शून्य नि ! गुरुजीको कदर नगरेमा त म पनि दुर्योधन र रावण हुन्छु । अनि डलर भारु दारु र थारुको आडले नपुगेर “चल काली कोलकोतेवाली” भनेर रोमदेखि टोमसम्मको शरणमा पुग्नुपर्दछ । म इमान र नम्रता, विवेक र मानवता अनि मेरो प्राकृतिक योग्यताको मात्र आड लिन चाहन्छु गुरुजी, मेरो अभीप्सा” ठूलो हुने होइन, असल हुने हो, असल, भित्री असल, फेसबुके असल होइन ।” प्रोफेसर ।
“आहा, कति राम्रो ! ल भन्नुहोस् अरू के छ ?” गुरुजी ।
“गुरुजी, औसत मानिस र खास मानिस, विशिष्टको बीचमा के फरक छ ?” प्रोफेसर ।
“कति गहन प्रश्न ! किन यो प्रश्न लहडी महाराज ? उत्तर त तपाईंलाई नै थाहा छ, गोविन्दराजानुज, परशुरामनन्दन हजुर ! म गुरुजी,हजुर त महागुरु नि ! अस्ति शहीद दिवसमा कमाल गर्नुभएछ । मेरो विचारमा औसत मान्छे रूपको भरमा चल्छ, सतही, सार, गुदी बुझ्दैन । बुझ्ने ल्याकत पनि हुन्न ।अनुकूलता मात्र खोज्छ । प्रतिकूल पात्रको राम्रो गुणको महत्व बुझ्दैन, मान्छे मन नपरे, सम्पूर्ण रूपमा त्याग्छ, डिभोर्स ! तर, मेधावी, जिनियसको कुरा अलग हुन्छ । शत्रुलाई पनि सम्मान गर्छ, गुण हेरेर । अनुकूल पात्रको आलोचना गर्छ, गलत गरेमा ! प्रतिकूल पात्रको राम्रो गुणको वकालत गर्छ, यसो गर्ने एक पात्र बैकुण्ठनगरको एक औतारी” प्रोफेसर जगमोहन आजाद सिर्जनशीलश्री विमलोपाध्याय उत्तमानुज” हुन् ! मान्छे अचम्मका ! घृणामुक्त जिन्दगी । जलनविहीन जिन्दगी । बहिष्कार उनको जीवनको शब्दकोषमा छैन । खास, मेधावीले विवेक प्रयोग गर्छ । विवेकले सबैको अस्तित्व स्वीकार्छ । मलाई यस्तै लाग्छ । कि कसो ?” गुरुजी ।

“वाह गुरुदेव, नमन ! मेरो शोध पूरा भयो । प्रतिशोध होइन । मेरो सोच पनि यही हो । बहिष्कार त हाम्रो खानदानले कसैलाई पनि गरेन । चित्त बुझ्यो गुरुदेव ! अब म जान्छु फूलहरू, आगोहरू र राधाहरूको कविता सुन्न, शब्द समुहमा, तीन रङ्गको फ्युजन छ । म पनि विश्वलाई कृष्ण बनेर हेर्न चाहन्छु । महासचिवहरूको मेल, शब्दहरूको खेल, प्रेमनदीको भेल तर्नु छ । नमन गुरुजी !” प्रोफेसर ।
“हस्त ! नमस्कार !! श्रीमुक्तिनाथले कल्याण गरून् ।” गुरुजी । फर्कियो प्रोफेसर ।
म समय, सम्पूर्णको ध्यानाकर्षण गरी एक्सपर्ट भएको छु । औसत र खास चिनियो ?


-धनराज गिरी