समाचार
काठमाडौँ ।
सहिद दिवसको अवसरमा ’आलेख’ साहित्यिक मासिकले वरिष्ठ कथाकार सुशीला प्रधानाङ्गको कथासङ्ग्रह ’जलेको रात’ को लोकार्पण गरेको छ । ’आलेख’ साहित्यिक मासिकका सम्पादक अच्युत घिमिरेको अध्यक्षता र वरिष्ठ समालोचक भाषाविद् प्रा. डा. यादवप्रकाश लामिछानेको प्रमुख आतिथ्यमा बालकोटस्थित कथाकारको निवासमा पुस्तक लोकार्पण भएको हो । कार्यक्रममा डा. यादेवी ढकालले शब्द मार्फत सहभागीहरूलाई स्वागत गरेकी थिइन् । साहित्यकार सजनी नौबागेले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ समालोचक युवराज मैनाली र ठाकुर शर्मा भण्डारीले पुस्तकको समीक्षात्मक टिप्पणी गरेका थिए ।
मैनालीले कथाहरू हाम्रै समाजका हामीले भोगेका दुःख – अभावका, महिला विद्रोहका र सकारात्मक सोचका भएका बताए । यहाँका कथाहरूको महत्त्वपूर्ण पक्ष भनेको कथाहरू पढ्न थालेपछि नसिध्याई छोड्न नमिल्ने, कौतुहल जगाउने र कथाहरू उत्कृष्ट भएका बताए । यसरी नै भण्डारीले पहिलो कथासङ्ग्रहले उनलाई स्थापित बनाएको छ । उनका कथाहरू नेपाली समाजमा हामीले भोगेका, देखेका कुराहरूको जीवन्त प्रस्तुति हो, कथामा प्रायः महिलाहरूका समस्याहरू भएको बताए । लोकप्रिय समालोचक प्रमोद प्रधानले ७५ वर्षको उमेर कटे पनि सुशीला दिदीको लेखनको सक्रियता र विशिष्टतानेपाली साहित्यका लागि ठूलो उपलब्धि भएको बताए ।
मन्तव्यको क्रममा कथाकार प्रधानाङ्गले देखेभोगेको कुरा सकारात्मक दृष्टिकोणको साथ कथा लेख्न गरेकी बताइन् । आफूले भोगेका कुराहरू नै मैले कथाका विषय बनाएको, कसैले मलाई केही भन्यो भने म आफैँ मलाई नै तुलना गर्छु र कथा लेख्छु, कथामा मेरै छोराछोरी, बुहारी, मैले भोगेकै कुराहरू छन् र तिनलाई म सकारात्मक दृष्टिकोणमा कथामा उतार्छु । प्रमुख अतिथिको मन्तव्यमा प्रा. डा. लामिछानेले यी कथाहरूले पाठकका मन छुन्छन्, यी कथाहरूले नेपाली साहित्यका पाठकमा निकै प्रभाव पार्ने मैले विश्वास लिएको बताए ।
कार्यक्रममा सीता शर्मा, डम्बर घिमिरे, डाक्टर सावित्री श्रेष्ठ लगायतले मन्तव्य प्रस्तुत गरेका थिए । गीतकार वसन्तराज अज्ञात, कथाकारका छोरी,छोरा, बुहारी, नाति र आफन्तहरू लगायत शुद्ध स्रोताको रूपमा रहेका थिए । साहित्यकारहरूबीच पारिवारिक भेटघाट र सम्बन्ध जस्तो लाग्ने कार्यक्रम बडो रमाइलो र रोचक ढङ्गले सम्पन्न भएको थियो ।
