• २०८२ माघ २१, बुधबार

श्रीश भण्डारीको ‘समय सूत्र’ सार्वजनिक

काठमाडौँ ।

वैदिक तथा वैज्ञानिक पक्षहरूबाट समयको विस्तृत विवेचना गरिएको पुस्तक ‘समय सूत्र’ शनिबार काठमाडौंमा आयोजित एक सामारोहबीच सार्वजनिक गरिएको छ । लेखक तथा सम्पादक श्रीश भण्डारीको उक्त पुस्तक भौतिकशास्त्रका विद्वान् प्राडा उदयराज खनाल, पूर्वीय दर्शनका ज्ञाता प्रा. डा. आमोदवर्धन कौण्डिन्यायन, वरिष्ठ चित्रकार एवं नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानकी पूर्व कूलपति रागिनी उपाध्याय, वरिष्ठ चिकित्सक एवं गीतकार डा. भोला रिजाल, पत्रकार टीकाराम यात्री, इटर्नल पब्लिकेसन प्रालिकी प्रबन्ध निर्देशक यमुना पराजुली अधिकारी र लेखक भण्डारी लगायत समारोहमा उपस्थित सबैले एकसाथ सार्वजनिक गरेका हुन् ।

‘समय सूत्र’ मा समयको भौतिक, अनुभवजन्य, जैविक र मनोवैज्ञानिक आयामहरूबारे वैज्ञानिक र दार्शनिक चिन्तन सहितको चर्चा छ । यसमा समयको सार्थकता, वर्तमानको मूल्य, समयको अनिकाल, समय मापन र जीवन व्यवस्थापन जस्ता विषयवस्तु समेटिएका छन् । पुस्तक लोकार्पण समारोहमा समयबारे प्राज्ञिक व्यक्तिहरू र लेखकबीच समय–संवाद गरिएको थियो । “समय बुझ्न/बुझाउन एकदमै कठिन विषय हो,’ उक्त संवादमा सहभागी हुँदै भौतिकशास्त्री खनालले भने, “यो पुस्तक मूलतः समयबारे जान्न र यसलाई अझ गहिरोसँग बुझ्न चाहने पाठकहरूका लागि हो ।” समयसम्बन्धी जटिल वैज्ञानिक अवधारणाहरूलाई यो पुस्तकले स्पष्ट, सटिक र प्रवाहपूर्ण नेपालीमा प्रस्तुत गरेको उनले बताए ।

वैदिक र अन्य महत्त्वपूर्ण ग्रन्थका सम्बद्ध विषयलाई मूल उद्धरणसहित उल्लेख गरी प्रामाणिक बनाइएकाले यो पुस्तक समयबारे जान्न चाहने विद्यार्थीवर्ग र आम पाठकका लागि उपयोगी रहेको प्रा. कौण्डिन्न्यायनले बताए। “युवा तथा नयाँ पुस्तालाई समयप्रति आम रूपमा सजग गराउन यो महत्त्वपूर्ण माध्यम हुन सक्छ,” उनले भने । वरिष्ठ चित्रकार रागिनी उपाध्यायले असल कर्मबाटै समय सार्थक बनाउन सकिने धारणा व्यक्त गरिन्। “यो किताबले हामीलाई समयको वास्तविक अर्थबोध गराउनेछ भन्ने मलाई लागेको छ,” उनले भनिन् ।

लेखक भण्डारीले पुस्तकबारे जानकारी दिँदै भने, “समय बुझ्नु भनेको घडीको चाल हेर्नु मात्र होइन, अस्तित्त्वको भाषा बुझ्नु, भाव अनुभूति गर्नु र लय पक्रनु हो। यो किताब पढिसकेपछि कुनै पाठकले आफ्ना पलहरूलाई बितिजाने एकाइ मात्र नभई अर्थयुक्त सम्भावना पनि हो भनेर बुझ्न सक्नुभयो भने म आफ्नो अभीष्ट सिद्ध भएको मान्नेछु ।” समय संवादको सहजीकरण पत्रकार यात्रीले गरेका थिए । उनले भने, “कृति पक्कै गहन र मननयोग्य छ ।” इटर्नल पब्लिकेसन प्रालिले सार्वजनिक गरेको यो किताब २६४ पृष्ठको छ। ५०० रुपैयाँ मूल्य रहेको यो पुस्तक शनिबारदेखि नै बजारमा उपलब्ध छ ।