• २०८० मंसिर १३ बुधबार

हेटौंडामा गोविन्द गिरी प्रेरणाको एकल कविता वाचन सम्पन्न

साहित्य सङ्गम मकवानपुरको आयोजनामा साहित्यकार गोविन्द गिरी प्रेरणाको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । सांढे चार दशकदेखि नेपाली साहित्यका विविध विधामा निरन्तर सिर्जनशील प्रेरणा तिहारको समयमा हेटौंडा आएका वेला साहित्य संगमले यो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको शुरूमा साहित्य सङ्गम मकवानपुरका उपाध्यक्ष सानु खनालले प्रेरणाको साहित्यिक परिचय प्रस्तुत गर्दै उनले कथा, कविता, निवन्ध, समालोचना, अन्तर्वार्ता, अनुवाद, नियात्रा , जीवनी तथा हास्यव्यङ्ग्य संग्रहहरू प्रकाशन गरेको बताए ।उनले मैनाली कथा पुरस्कार, वासुशशी स्मृति पुरस्कार, नारायणी वाङ्गमय पुरस्कार आदि प्राप्त गरेको बताए ।

मकवानपुरको टेक्कर सिस्नेरीमा जन्मेर हेटौंडामा स्कुले जीवन बिताएका प्रेरणा काठमाडौं हुँदै हाल अमेरिका वसोवास गर्छन् । साहित्यकार प्रेरणाले कविता वाचनको शुरूवात गर्नुअघि हेटौंडा छँदै सिर्जनाका बीउ टुसाएको र काठमाडौंमा सिर्जनाको अवसर मिलेको बताए । उनलेम कार्यक्रममा विभिन्न समयमा विभिन्न देशमा रहँदा लेखेका आमा, छुटेको रेल, क्यारोलिना, फिर्ति टिकट लगायतका १० कविताहरू वाचन गरे । कार्यक्रमका प्रमुख अतिथि तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले विभिन्न देशमा रहेर कविता लेखिरहेका प्रेरणाले नेपाली साहित्यका लागि महत्वपूर्ण योगदान दिएको बताए ।

यस्तै सङ्गम अध्यक्ष डीबी बर्तौलाले अध्यक्षको आसनबाट साहित्यकार प्रेरणाको एकल वाचनको कार्यक्रम राख्न पाउँदा गर्व लागेको बताए । साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा सञ्चालित सो कार्यक्रम संस्थाका सहसचिव भवानी तिमल्सिनाले सहजीकरण गरेकी थिइन् ।