कविता
पोखरा ।
पोखरेली युवा सांस्कृतिक परिवार, पोखराको आयोजनामा आख्यानकार उमा सुवेदीको पछिल्लो उपन्यास ‘परिधि’ को परिचर्चा कार्यक्रम पोखरामा भएको छ । वरिष्ठ साहित्यकार सरुभक्त प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समीक्षकहरू साहित्यकार डा. ईश्वरमणि अधिकारी र गौरी तमूले उपन्यास ‘परिधि’ माथि आआफ्नो धारणा प्रस्तुत गर्दै उपन्यासको सबल र दुर्बल पक्षको चर्चा गरे ।
डा. अधिकारीले कृतिले भ्रमपूर्ण मानसिकता, विषाद, असन्तुलन तथा अधिकांश छलछामपूर्ण मुखुण्डो लगाएका पात्रहरूले निर्माण गरेको मायावी केन्द्र र त्यसैको वरपर रहस्यपूर्ण तवरले स्वैकाल्पनिक रंगहरूमा पोतिएका कथाउपकथाहरू क्यानभासमा जेलिंदै–फुस्किंदैर फेरि जेलिंदै एक अलग परिधि निर्माण गरेको बताउंदै बनोट, बुनोट, कथ्यहरूको प्रयोग र शैलीका हिसाबले उनको नवीन उपन्यास परिधि उनका पूर्ववर्ती उपन्यासहरूभन्दा धेरै अर्थले उत्कृष्ट भएको बताए ।
‘परिधिले मान्छेको मनमस्तिष्क र चेतनाको कुरा बताउन खोजेको बताउँदै यसका पात्रहरूको भोगाइ र सोचाइ आम मान्छेभन्दा बिलकुल फरक भएकैले पनि कृतिमा रहस्य, कौतुहल, जिज्ञासा र सम्भावनाहरू सबै जीवन्त रहेको बताए । समग्रमा कृति पढिरहँदा मज्जा लाग्ने, अरूको दुख, विषाद पढ्दा पनि झ्याउ नलाग्ने तर परिधि पढिरहेको पाठक बेलाबेला थ्रीलर अनि सस्पेन्स शैलीको दक्षीण भारतीय चलचित्र हेरेझैँ रोमान्चित हुने बताउँदै कथानक कहीं केन्द्र उन्मुख त कहीं परिधिउन्मुख भएको बताए ।
आख्यानमा दीर्घकालसम्म सम्झिने विषय खासै नरहेको बताउँदै अलिक बढ्ता विषाद र दुखीआत्माहरूको केन्द्रीयता रहेकोमा गुनासो व्यक्त गरे । अर्की समीक्षक गौरी तमुले कृतिको नारीहरूका जीवनका विभिन्न पाटाको कथालाई परिधिले सम्बोधन गरेको बताइन् । कार्यक्रममा आख्यानकार उमा सुवेदीले परिधिको रचना गर्भबारे जानकारी गराउँदै पोखरामा यस्तो ऐतिहासिक संस्थाको व्यानरमा आफ्नो कृतिको परिचर्चा जस्तो महत्त्वपूर्ण कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गरिन् र आउँदा दिनमा अझ जिम्मेवार भएर साहित्यसेवामा लागिपर्ने बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले गिरीशवल्लभ जोशीको वीरचरित्रदेखि सुरु भएको नेपाली आख्यान लेखनका विविध मोड र चरणसहित मायिक यथार्थवाद तथा स्वैरकाल्पनिक लेखनका सौन्दर्य र चुनौतीमाथि चर्चा गर्दै समकालीन लेखनका आयाममाथि प्रकाश पारे । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष साहित्यकार लक्ष्मण थापाले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव एम डि काफ्लेले गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष साहित्यकार रिता अधिकारी ‘ऋतु’ को अध्यक्षतामा सम्पन्न भएको थियो ।
