• २०८२ फाल्गुन ७, बिहीबार

साहित्यकार रामविक्रम थापा सम्मानित

काठमाडौँ ।

खोटाङका साहित्यकार रामविक्रम थापालाई सम्मान गरिएको छ। दिक्तेल बजारस्थित श्री सरस्वती माध्यमिक विद्यालयले ७३ औं वार्षिक उत्सवको अवसरमा साहित्यकार थापालाई उत्कृष्ट सम्पादकको रूपमा सम्मान अर्पिएको हो । ‘सरस्वती–५’ का सम्पादक शिक्षक रामविक्रम थापालाई १० हजार रुपैयाँ र प्रशंसापत्रको साथ उत्कृष्ट सम्पादकको रूपमा सम्मान अर्पिएको हो । शिक्षासेवी तथा विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवीप्रसाद रिजालको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्दिरा बस्नेतको अध्यक्षतामा वार्षिक उत्सव भएको हो ।

उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व शिक्षक रामविक्रम थापाले सम्पादन गरेको विद्यालयको वार्षिक मुखपत्र ‘सरस्वती–५’ को पनि लोकार्पण भएको छ । शिक्षासेवी रिजालले मुखपत्रको लोकार्पण गरेका हुन् । साहित्यकार नइन्द्र खत्रीले लोकार्पित मुखपत्र ‘सरस्वती–५’ को समीक्षात्मक टिप्पणी गरेका थिए । साहित्यकार थापाका पात्रहरू (लघुकथासंग्रह, २०५५), छरिएका कविता (कवितासंग्रह, २०५६), बालपोष (बालकवितासंग्रह, २०६४), राम्रो बानी (बालकवितासंग्रह, २०७३) लगायतका दर्जनौ कृति प्रकाशित छन् । शिक्षक चन्द्रकुमार श्रेष्ठको सञ्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक शिवहरि ढकालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न अतिथिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वार्षिकोत्सवका अवसरमा खेलकुद प्रतियोगिता, अन्तरसदनात्मक नृत्य प्रतियोगिता तथा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता पनि भएको थियो । नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने दिक्तेल बहुमुखी क्याम्पसले १५ हजार, द्वितीय हुने सरस्वती माध्यमिक विद्यालयले १० हजार, तृतीय हुने पञ्च माध्यमिक विद्यालयले ७ हजार र सान्त्वना स्थान प्राप्त गर्ने माउन्ट एभरेष्ट बोर्डिङ स्कुलले ५१ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए । कार्यक्रममा अन्य विधाका पुरस्कारहरूका अतिरिक्त ३० वर्ष सेवा पु¥याएका विद्यालयका शिक्षक भगत राईलाई १० हजार रूपैयाँ नगदसहित दीर्घसेवा सम्मान अर्पिएको थियो । उक्त सम्मान तथा पुरस्कार प्रमुख अतिथि रिजालले समर्पण गरेका थिए ।