• २०८१ कातिर्क २५ आइतबार

मुना धितालको महाकाव्य ‘महाकाश’ बजारमा

मुना धिताल अर्यालको नवीन महाकाव्य ‘महाकाश’ बजारमा आएको छ । ओशोको जीवनकथामा आधारित भएर १६ सर्ग र एक हजार १३ श्लोकमा रचिएको महाकाव्य हालै बजारमा आएको हो । शिखरिणी, स्रग्धरा, शार्दूलविक्रीडित, मन्दाक्रान्तालगायत १७ वटा छन्दमा लेखिएको महाकाव्य ‘मंगलाचरण’बाट सुरू भई ‘महापरिनिर्वाणपश्चात्’मा टुङ्गिएको छ ।

ओशो साहित्यको प्रेरणाबाट यो कृति सिर्जना गरेको अर्यालले उल्लेख गरेकी छन् । पुस्तकको लेखकीय भूमिकामा उनले लेखेकी छन्, ‘ओशो साहित्यको रसास्वादनमा डुब्दै गर्दा त्यो साहित्यसँग आजको साहित्यको सेतु बन्न सक्ने कुनै कृति सिर्जना गर्ने सङ्केत मभित्र दिलबाटै आयो । गुरुकृपा बर्सियो, छन्दमा गुनगुनाउँदा गुनगुनाउँदै प्रस्तुत महाकाव्य जन्मियो ।’

मातृभूमि साहित्य समाज, हेटौंडाले प्रकाशन गरेको कृतिको मूल्य ७०० रुपियाँ राखिएको छ । अर्यालको यो दोस्रो महाकाव्य हो । यस अघि उनको ‘आत्म सलिल’ महाकाव्य (२०७६ साल) प्रकाशनमा आएको थियो भने २०६० सालमा अनुवाद कृति ‘ईश्वराम्मा’ प्रकाशनमा आएको थियो ।