घाउका आँखाहरूसँगै
भिक्षाका झोलीहरूलाई
बदनाम गर्न चाहन्छु
निन्दनीय ती दृष्टिहरू कुनै आकारमा नआऊन्
बिझाउँछ
बिझाए मात्र त हुन्थ्यो नि
सहिन्थ्यो होला
तर के गर्नु !
सारङ्गी र सहनाईको होइन
मीठो धुन बज्न
धाक, धक्कु र ठगीकमाइको
थाकका थाक बिटाका बिटा जुधेर
हुन्डरी- बाजा पो बज्छ
भग्नावशेष सहर, सडकमा
लड्खडाउँदै हिँडिरहेको छु,
डढेलोले खुइल्याएको जङ्गलको ढाडमा
बेढङ्गको कवाज खेलिरहेको छु
म गीत गाउन चाहन्छु
म नाच्न चाहन्छु
म हाँस्न, रमाउन चाहन्छु
म खुसीले उफ्रिँदै दौडिन चाहन्छु
म यात्री हुँ !
आफ्नै इच्छानुसार कसैलाई नखलबलाई
यात्रा हिँड्न चाहन्छु,
मानिसको हिँडाइको गन्तव्य र त्यसको गति कस्तो हुनुपर्छ ?
र त्यस गतिको प्रगतिले कत्तिको महत्त्व समेट्नुपर्छ ?
कोठाको भित्तामा क्यालेन्डर झुन्डिएको छ
क्यालेन्डरका पानापिच्छेको कोठामा
सङ्ख्या बढ्दै गएका गतेहरू छन्
तर गतेको सङ्ख्याले
गन्तव्यतिर गति बढाएको
गते नभएर मानिसहरूलाई
समयको घाउ छिप्पिएको
हत्ते- बोध गराउँछ ।
(महर्षी स्थापिक साहित्यसर्जक हुन्)
[email protected]