• २०८२ माघ १६, शुक्रबार

कुनै दिन
म खरानी हुन्छु-
नाम, थर, पहिचान सबै
हावाले उडाएको स्मृतिजस्तै ।
त्यो खरानी नदीमा बगाईदिनू,
तर नदीलाई नसोध्नु
म मरेँ भनेर-
नदी त निरन्तरता हो,
म त केवल रूप फेरिएको हुँ ।
म बगेको नदीमा
मेरो बाल्यकालको हाँसो मिसिनेछ,
आमाको चुल्होको धुवाँ मिसिनेछ,
बुवाको मौन पसिना मिसिनेछ ।
त्यही पानीले
कुनै अनजान खेत सिँच्नेछ,
कुनै तिर्खाएको ओठ छुनेछ-
सायद त्यहीँ
मेरो पुनर्जन्म हुनेछ ।
मरेपछि
म कहानी बन्छु-
अक्षरमा होइन,
मानिसका आँखामा बाँचेको कथा ।
कसैले भन्ला,
“ऊ अलि धेरै सोच्छ,”
कसैले भन्ला,
“ऊ चुपचाप शान्त थियो ।”
त्यो कहानी मृत्युलाई सुनाईदिनू,
किनकि मृत्युलाई पनि
थाहा हुनुपर्छ-
म डराएर आएको थिइनँ ।
मृत्यु,
तिमी अन्त्य होइनौ,
तिमी त विश्राम हौ ।
जीवनको लामो यात्रामा
थाकेका आत्माहरूको
एक क्षणको बसाइ ।
मेरो कथामा यदि
अधुरोपन छ भने,
त्यो मेरो कमजोरी होइन-
त्यो मान्छे हुनुको प्रमाण हो ।
जब कसैले
मेरो नाम उच्चारण गर्दा
एकछिन मौन बस्छ,
त्यही मौनमा म हुनेछु ।
जब कसैले
अन्याय देखेर पनि
साहस जुटाउँछ,
त्यही साहसमा म हुनेछु।
म मरेर सकिँदैन,
म सम्झनामा फैलिनेछु ।
त्यसैले,
म खरानी हुँदा नरुनू,
म अनन्तमा हुँदा नबिर्सनू ।
नदीलाई मेरो भार नसम्झनू,
मृत्युलाई मेरो हार नसम्झनू ।
म त केवल
यो शरीरको सीमाबाट
अर्थको अनन्ततामा
हिँडेको हुँ ।
कुनै दिन
तिमी पनि कहानी हुनेछौ-
त्यस दिन
मृत्युलाई हामी दुवैको कथा
सँगै सुनाउनेछौँ ।

गैंडाकोट–२, नवलपरासी