• २०८२ माघ १५, बिहीबार

भीष्म उप्रेती ‘आवाज र अनुभूति’ को दोस्रो शृङ्खलामा

काठमाडौँ ।

‘आवाज र अनुभूति’ को दोस्रो शृंखलामा कवि भीष्म उप्रेतीले कविता प्रस्तुत गरेका छन् । कवि उप्रेती नेपाली निबन्धकार तथा अनुवादकका रूपमा पनि उत्तिकै परिचित छन् । सारांश नेपाल र शिखा बुक्सको आयोजनामा काठमाडौंमा धुम्बाराहीस्थित नेशनल कलेजमा कार्यक्रम भएको हो ।

कवि विश्व सिग्देलले स्वागत भाषण र उप्रेतीका एक कविता वाचन गर्दै कार्यक्रम शुरूवात गरेका थिए । कवि उप्रेतीले विविध विषयवस्तुका ३९ कविता प्रस्तुत गरेका थिए । उत्साहजनक र सशक्त प्रस्तुतीसहित आफ्नो काव्य संसारलाई जीवित रूपमा प्रकट गरे, जसले उपस्थित सबैलाई भावविभोर बनाएको थियो ।

उनका कवितामा मानवीय संवेदना, समयबोध, प्रेमबन्धन, स्मृति, सामाजिक विकृति तथा चेतना, प्रकृति र आत्मचिन्तन जस्ता विस्तृत विषय समेटिएका थिए। ‘प्रार्थना’, ‘आँसु’, ‘मुस्कान’, ‘आमा’, ‘मुटु’ तथा ‘तिम्रो आँखामा’ जस्ता कविताले मानवीय स्नेह, करुणा र सम्बन्धका गहिरा भावना उजागर गरे । ‘घडी’, ‘बीचमा’, ‘बाटो’ र ‘थोपाथोपा जिन्दगी’ जस्ता कविताले समयको निरन्तर प्रवाह र अस्तित्वको क्षणभंगुरतालाई सुन्दर र मार्मिक रूपमा पाठकसामु ल्याए ।

सामाजिक यथार्थ र मानवीय पीडालाई उजागर गर्ने कविताहरू, जस्तै ‘हामीलाई नमार’, ‘विद्रोह’, ‘मुखुण्डो’ र ‘अन्धो’, ले युद्धविरोधी चेतना, सामाजिक ढोंग र विसंगतिलाई तीक्ष्ण दृष्टिले आलोचना गरे । प्रकृतिलाई जीवनका दार्शनिक आयामहरूमा बुनेका ‘नदी र कवि’, ‘प्रकृति’, ‘समुद्र’ तथा ‘चरा हरू’ जस्ता कविताले सुन्दरता मात्र नभई दार्शनिक गहिराइ पनि प्रदान गरे ।

कार्यक्रमको उत्तरार्धमा ‘आत्मविश्वास’, ‘प्रश्न’ र ‘अनुभूति’ शृङ्खलाका कविताले आत्मचिन्तन, आध्यात्मिक खोज तथा पृथ्वीप्रतिको उत्तरदायित्वबारे गहिरो सन्देश दिए । कार्यक्रमपछिको अन्तक्र्रिया सत्रमा पनि उनीहरूले उप्रेतीको सशक्त प्रस्तुतिलाई मनोरञ्जन मात्र नभई जीवन, समाज तथा समकालीन यथार्थप्रति नयाँ र आलोचनात्मक दृष्टिकोण जगाउने प्रेरणास्रोतको रूपमा अनुभव गरिएको बताए ।

झापामा जन्मिएका भीष्म उप्रेतीका २४ कृति कविता, निबन्ध, यात्रावृत्तान्त तथा उपन्यासका विविध विधामा प्रकाशित छन्। उनका रचनाहरू धेरै भाषामा अनूदित छन् । उपस्थितहरूले यो व्यावसायिक कविता वाचन कार्यक्रमले नेपाली साहित्यिक समुदायमा व्यावसायिक कविता संस्कृति पुनर्जीवित गर्ने र सुदृढ बनाउने पहल भएको उल्लेखनीय प्रतिक्रिया दिए ।