कविता-हिन्दी

आज मौसम
नाच्न खोज्छ
किन होला ।
आज सपना
बाँच्न खोज्छ
किन होला ।
आऊ आज
बादललाई गोडेर
वर्षा फलाऔँ ।
जाँगरै जाँगर छरेर
मनमा ऋतु बनी पलाऔँ ।
आस्थाको सूर्य
अनि मायाको चन्द्रमा बनी
हाम्रै धर्तीमा उदाऔँ
नयाँ जीवन छुँदै मनले
आत्माको गीत गाऔँ
आज सारङ्गी
नयाँ धुन रेट्न खोज्छ
किन होला
कुनै साथी भेट्न खोज्छ
किन होला ।
यो नयाँ दिनको उज्यालो फिँजिरहेछ
आज मनको हरेक छेऊ
कल्पनाले भिजिरहेछ
त्यसैले म बुझ्न सक्छु
किन मौसम नाच्न खोज्छ
किन सपना बाँच्न खोज्छ ।
साभार: मेघा (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)