रम्वास कविता
पोखरा ।
पोखरेली युवा सांस्कृतिक परिवारद्वारा आयोजित एक समारोहमा साहित्यकार सरुभक्तको’ सरुभक्तका कविता कृति लोकार्पण सम्पन्न गरिएको छ । सरुभक्तका समकालिन मित्र साहित्यकार उषा शेरचनले उक्त कृतिको लोकार्पण गरेकी हुन्। जुन कृतिभित्र सरुभक्तका सात वटा पुस्तक समावेश गरिएका छन्। कार्यक्रममा सरुभक्तकै समकालीन साहित्यकार उषा शेरचनलगायतले कृति सार्वजनिक गरे ।
कविताका आफ्ना पाठकहरुलाई आफ्ना कविताहरु एक मुष्ठरुपमा अध्ययन गर्न सजिलो होस् । भन्ने हेतुले सबै कृतिलाई एकै ठाउँमा समावेश गरिएको कृतिकारले जानकारी दिए । तिसको दशकमा कविता लेखनको प्रारम्भिक चरणको स्मरण गर्दै सरुभक्तले समकालीन कविहरूका बिचमा रहेको सद्भावपूर्ण सम्बन्धका कारण कवित्व फस्टाएको धारणा राखे । यसअगि ‘सरुभक्तका मुक्तक’ नामक कृतिमा उनका विभिन्न मुक्तक सङ्ग्रहका मुक्तक समावेश गरी प्रकाशन गरिएको थियो । ‘पागल बस्ती’ उपन्यासका लागि २०४८ को मदन पुरस्कार विजेता सरुभक्तका उपन्यास, नाटक, कथा, कविता, गजल, मुक्तक, खण्डकाव्यलगायत विभिन्न विधाका ५० भन्दा बढी कृति प्रकाशित छन् ।
कार्यक्रमकी प्रमुख अतिथि रहेकी साहित्यकार उषा शेरचनले सरुभक्तसँगको साहित्यिक सहकार्यको स्मरण गरिन् । उनले सरुभक्तले निस्वार्थ मित्रताको गतिलो उदाहरण साहित्यिक समाजमा प्रस्तुत गरेको अनुभव सुनाइन् । सरुभक्त पोखराको मात्र नभई सिङ्गो नेपाली साहित्यकै गौरव भएको बताउँदै शेरचनले सरुभक्तका कवितामा पाइने जीवन दर्शन उल्लेखनीय रहेको धारणा राखिन् । यो एक असाधारण कृति भएको उल्लेख गर्दै उनले सरुभक्तलाई ‘गण्डकी गौरव’ को संज्ञासमेत दिइन् । कार्यक्रममा वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले प्रारम्भदेखि आजसम्म पनि उस्तै अनुशासनपूर्वक साहित्य साधनामा लाग्नु सरुभक्तको विशिष्ट गुण भएको बताए ।
कृतिको प्रकाशक सरुभक्त केन्द्रकी उपाध्यक्ष सरस्वती प्रतीक्षाले ‘सरुभक्तका कविता’ मा इन्द्रेणीका सात रङ भए जस्तै रङ्गीन कविता समेटिएको बताइन् । नवप्रवेशीका लागि प्रेरणादायी र स्थापितका लागि अध्ययन केन्द्रका रूपमा लिन सकिने कविता कृतिभित्र समेटिएको उनको भनाइ थियो । कवि रमेश श्रेष्ठले सरुभक्त ‘मासका’ कवि नभई ‘क्लासका’ कवि भएको बताए । उनका कविताले मष्तिष्कले बुझ्नुपर्ने अवस्था सिर्जना गर्ने श्रेष्ठको भनाइ थियो ।
लोकगायिका तथा साहित्यकार हरिदेवी कोइरालाले सरुभक्तले सिङ्गो नेपाली साहित्यलाई अभिभावकत्व प्रदान गरेको बताइन् । सबै विधामा उत्तिकै सफल कलम चलाउनु सरुभक्तको विशेष क्षमता भएको कोइरालाको भनाइ थियो ।पोखरेली युवा सांस्कृतिक परिवारकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’ को अध्यक्षतामा भएको कार्यक्रममा सरुभक्तका कविता प्रकाश घिमिरे, अनुप बराल, डा. ईश्वरमणि अधिकारी र सरस्वती प्रतीक्षाले वाचन गरेका थिए । सचिव एमडी काफ्लेको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण थापाले स्वागत गरेका थिए ।
