• २०८२ माघ २६, सोमबार

‘इन्दिरा प्रसाईँका कथाको सौन्दर्यशास्त्र’ लोकार्पण

काठमाडौँ ।

प्रा. डा. दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईँका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थको राजधानीमा लोकार्पण गरिएको छ । वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा प्रमुख अतिथि महासमालोचक प्रा. डा. वासुदेव त्रिपाठीले भने ‘नेपाली कथा साहित्यका आधिकारिक विशेषज्ञ प्रा. डा. दयाराम श्रेष्ठले सिद्धहस्त कथाकार इन्दिरा प्रसाईँका कथाबारे समालोचना गरेर ठुलो न्याय गर्नुभएको छ ।’

समारोहमा लेखक प्रा. डा. दयाराम श्रेष्ठले भने ‘इन्दिरा प्रसाईँका कथाको सौन्दर्यशास्त्रको विवेचना र मीमांसा गरिएको यस कृतिमा मैले कथासम्बन्धी आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गरेको छु । यो मेरो प्रयोगात्मक अध्ययनको नमुना हो र यो मेरो अभियानको प्रथम कोसेली पनि हो ।’ नइ एकेडेमीबाट प्रकाशित सो ग्रन्थबारे प्रसिद्ध समालोचक प्रा केशव सुवेदीले ‘यो ग्रन्थ नेपाली कथा समालोचना परम्पराको नव आयाम हो र कथाका अध्येता अनुसन्धाताहरूका लागि यसले मार्गनिर्देशन गर्नेछ’ भन्ने धारणा राखे ।

समारोहमा कथाकार इन्दिरा प्रसाईँले ‘प्रस्तुत ग्रन्थ मेरो लेखनयात्राको स्वर्णिम उपलब्धि हो’ भने । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरीको सभापतित्वमा सञ्चालित सो समारोहमा फाउन्डेसनका उपाध्यक्ष प्रा. डा. ऋषिराम शर्मा र सदस्यसचिव नरेन्द्रराज प्रसाईँबाट कृतिबारे प्रकाश पारिएको थियो ।

समारोहमा काठमाडौँ महानगरपालिका ३१ वडाका अध्यक्ष तथा समाजसेवी सरोज ढकालले भने ‘नेपाली साहित्यका विश्व नारी रत्न वानीरा गिरी हाम्रो देशकै गौरव हुनुहुन्थ्यो । उहाँको सम्मानमा काठमाडौँ महानगरपालिकाले यस क्षेत्रलाई ‘वानीरा मार्ग’ नामकरण गरिएको छ’। त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्रा. डा. दयाराम श्रेष्ठ नेपाली कथा साहित्यका प्रथम विद्यावारिधि हुन् । उनले छत्तीस वर्ष प्राध्यापन गरेका थिए । उनका तीस वटा कृति प्रकाशित भइसकेका छन् ।