निबन्ध
काठमाडौँ ।
अक्षलोकको दुईदिने साहित्यिक यात्रामा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । सिन्धुपाल्चोकको तेर्से माध्यमिक विद्यालयको निमन्त्रणामा सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र परिवारले तालामाराङ, मेलम्ची, सिन्धुपाल्चोक पुगेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर अर्यालका अध्यक्षता र डा. सावित्री श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रको तर्फबाट संस्थाका संरक्षक डा. सावित्री श्रेष्ठले तेर्से माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक एवम् मेलम्ची –६ का पूर्व वडाध्यक्ष जीतराज थापालाई सम्मान गरिएको थियो ।
अक्षलोक तथा केही साहित्यकारको तर्फबाट विद्यालयलाई दुई सयभन्दा बढी पुस्तक हस्तान्तरण गरिएको थियो। साहित्यकार उर्मिला डङ्गोलले पुस्तक खरिद गर्न नगद पाँच हजार पाँच सय रुपियाँ प्रदान गरेका थिए । कार्यक्रममा विद्यालयका क्याप्टेन साजन तामाङ लगायत अन्य विद्यार्थीहरूले गीत र कविता प्रस्तुत गरेका थिए। अक्षलोकले साजन तामाङलाई सम्मान पनि गरेको थियो । कार्यक्रममा डा. सावित्री श्रेष्ठ, विमलप्रभा बज्राचार्य, अन्जना ताम्राकार, मेनुका पौडेल, उर्मिला डङ्गोल, शर्मा ललिता, निशा केसी, शान्ति पौडेल, विजया बस्नेत र ललिता ‘दोषी’ ले कविता, कथा र मुक्तक प्रस्तुत गरेका थिए ।
साहित्यकार ललिता ‘दोषी’ ले बालसाहित्यकार शर्मा ललिताका ‘सपनाको क’ (बालचित्रकथा, २०७५) र ‘चन्द्रलोकको सानो साथी’ (सचित्र बालकथासङ्ग्रह, २०७८) को समीक्षात्मक टिप्पणी गरेकी थिइन् । विद्यालयका शिक्षक रामभक्त दनुवारले सहजीकरण गरेको कार्यक्रममा शर्मा ललिता र ललिता ‘दोषी’ ले विद्यार्थीहरूलाई बालकथा एवम् बालकविता लेखनको प्रशिक्षण पनि दिएका थिए । विद्यार्थीहरूले पनि आफ्ना रचनाहरू प्रस्तुत गरेका थिए। सिद्धेश्वरमान अक्षलोक साहित्यिक केन्द्रले आयोजना गरेको दुईदिने साहित्यक यात्राको संयोजक शान्ति पौडेलले गरेकी थिइन् । त्यस्तै यस कार्यक्रमको समन्वयकर्ता तेर्से माध्यमिक विद्यालयका शिक्षक गोपाल खड्का थिए । गोपाल खड्का र उनकी धर्मपत्नी रीता खङ्का र छोरा सागर खड्काको सुन्दर आतिथ्यमा अक्षलोक परिवारको दुईदिने साहित्यिक यात्रा भएको थियो ।
