समाचार
काठमाडौं ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल (अनेसास) नेपाल च्याप्टरद्वारा आयोजित ३५ औं स्थापना दिवस समारोह विशेष कार्यक्रमका साथ काठमाडौंको अनामनगरस्थित सामाजिक सेवा भवनमा भव्य रूपमा सम्पन्न भएको छ । समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार भुवनहरी सिग्देल रहेका थिए भने विशिष्ट अतिथिहरूमा प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, अनेसास केन्द्रकी सल्लाहकार लिला लुइँटेल, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, साहित्यकार रामप्रसाद दाहाल, पवन आलोक, तथा सम्मानित स्रष्टा डा. कृष्णहरी बराल लगायत थुप्रै साहित्यकार, लेखक तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी. को सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली साहित्यको वर्तमान अवस्था, भविष्य र अन्तर्राष्ट्रिय पहुँचका विषयमा व्यापक छलफल गरिएको थियो । वक्ताहरूले नेपाली भाषा, साहित्य र संस्कृतिलाई विश्वभर फैलाउन अनेसासले खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गरे। प्रमुख अतिथि सिग्देलले अनेसासले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न गरेको योगदान उल्लेख गर्दै, विभिन्न देशहरूमा रहेका नेपाली साहित्यकारहरूलाई एउटै सञ्जालमा आबद्ध गराई साहित्यिक गतिविधिहरू सञ्चालन गरिएकोमा खुशी व्यक्त गरे। उनले यस्ता संस्थागत प्रयासले नेपाली साहित्यलाई विश्व साहित्यसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
कार्यक्रममा नेपाली साहित्य तथा सांस्कृतिक योगदानको महत्वमाथि विशेष चर्चा गरिएको थियो भने अनेसासले नेपाली साहित्यको संरक्षण, प्रवद्र्धन र अन्तर्राष्ट्रिय पहिचान निर्माणमा पु¥याएको योगदानलाई पनि उजागर गरिएको थियो । यस अवसरमा सम्मानित स्रष्टा डा. कृष्णहरी बराल ले आफूलाई सम्मानित गर्न पाउँदा अत्यन्त हर्षित भएको बताउँदै, आगामी दिनहरूमा नेपाली साहित्य र संस्कृतिको उन्नयनका लागि अझ सक्रिय रूपमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।
समारोहको अन्त्यमा अनेसास नेपाल च्याप्टरले आगामी दिनहरूमा देश तथा विदेशमा नेपाली साहित्य र संस्कृतिको प्रवद्र्धनका लागि विविध कार्यक्रम, साहित्यिक गोष्ठी तथा अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने योजना सार्वजनिक गरेको छ ।
