समाचार
साहित्य सङ्गम मकवानपुरकाे ३९औं वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो राष्ट्रिय पर्याकविता उत्सवमा मकवानपुरका कवि किशन पौडेल प्रथम भएका छन् । पौडेलले ‘दोहन’ कविताबाट प्रथम स्थान हासिल गर्दै ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यसै गरी कैलालीका कवि मोहित जोशीले ‘समयको अन्त्यको किनारामा उभिएर’ कविता द्वितीय भएकाे छ। कवि जाेशीले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै सुनसरीका कवि किरण सिवाको ‘मौन प्रकृति’ कविताले तृतीय स्थान हासिल गरेको छ। उनले १० हजार रूपैयाँ पाएका छन् । काठमाडौँकी कवि यशोधा अधिकारीको ‘धरतीको विघटन’, तनहुँका कवि नरोत्तम श्रेष्ठको ‘बिउको रक्तिम घोषणापत्र’ कविता सान्त्वना पुरस्कार प्राप्त गरेका थिए। सान्त्वना स्थान प्राप्त कविहरूले जनही ५–५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । देशभरबाट प्राप्त १६४ कवितामध्ये उत्कृष्ट १० कविता अन्तिम चरणमा वाचन गरिएको थियो ।
कार्यक्रम साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता र हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे । उक्त अवसरमा नेपाली साहित्यमा पर्यावरण चेतनाको भूमिका विषयमा बहस कार्यक्रम पनि आयोजना गरिएको थियो। सुवास खनालले सहजीकरण गरेको बहस कार्यक्रममा पर्यावरण साहित्य अभियन्ता तथा वातावरणविद् विजय हितान, अङ्ग्रेजी तथा नेपाली साहित्य लेखन प्रशिक्षक तथा अङ्ग्रेजी भाषाविद् ईश्वर कँडेल र प्रखर समालोचक डा. घनश्याम घिमिरेले आआफ्ना धारणा राखेका थिए ।
