• २०८२ पुष २५, शुक्रबार

नारी शक्ति: अभिसाप कि वरदान !!

सुशिला शर्मा शिलु

सुशिला शर्मा शिलु

नारी हौ,
तिमिले सहजै पिउनु पर्छ,
विष तत्त्व ,
कतिपय अवस्थामा
भ्रुण हुँदा देखि नै !!

सहनु पर्छ विषको पीडा,
छोरी हौ नि त,
समाजका खातिर,
संस्कार, धर्म, दया एवम्
कर्तव्यको नाममा !!
दुखाइ हुन्छ, पोल्छ, भारी हुन्छ सास,
अड्किन्छ बोली,
बग्छ रगतको खोली,
रित्तिन्छ आँसु,
टुट्छ कोमल हृदय
तैपनी तिमिले सहनु पर्छ भन्छ
अन्धो समाज

आगोमा होमिन तयार गराउने,
झुटको झुन्ड,
आगोबाट फर्किएका चेलिलाई
नै प्रश्न सोध्छ,
आगोलाई छोइस कि टाढैबाट भेटिस रुरु
गहिरो समुद्रमा हाम फाल्न लगाउँछ र
बाँचेर आयो भने फेरि सोध्छ,
कतै समुद्रसँग मीत त लगाईनस्,
बतासमा उडेर आइज भन्छ ,
आँधीसँग जुधेर आएपछी फेरि सोध्छ,
कतै आँधिलाई आफ्नो त बनाइनस् ?
यो आफू भनेर चिन्न नपाइकन नै
हरेक खुड्किलामा
अग्नि परीक्षा लिने खलनायकहरू
रातभरी निदाउन सक्दैन,
कतै आफ्नो प्रिय पात्र त्यसमा नपरुन भनेर !!

विष पिएर फर्केकी महिलासँग
जुधाउन सक्दैन,
हिंस्रक आँखाहरू ,
र दिन थाल्छ भुतको उपनाम,
किनकी उसलाई डर छ,
मान्छे बनायो भने
खोलिन थाल्छ उस्को खलनायक पनको
आवरण,
त्यसैले नपिएकोहरुलाई विष दिन तयार छ,
पिएर आएको हरुलाई उपनाम दिन तयार छ,
भित्र भित्र सल्किएको अहंकारको पितृ सत्ताले
आवरणमा पुनस् स्त्री अनुहार नै देखाएर हरदम
हिंसाको खेल खेल्न तयार छ !!

चुप छ आकाश चुप छ धर्ती,
सिंहमर्मरले सजिएको भित्ता
च्यातेर हेर्न सक्नु पर्छ मनको आँखा उघारी,
कतै आफ्नैको त कतैअर्काको
चार दिवार भित्र
सेकेण्ड सेकेन्डमा
मर्माहत दृश्य सँग
जुधेर बाँचेका छन धेरै स्त्री आकृती ।।

सदियौंदेखि ज्वालामुखी अगाडी
किराको क्रन्दन जस्तो तेज छ,
कु( संस्कारको आगो,
भाग्नेहरु अनेकन निहुँमा सिमापार भए,
नभाग्नेहरु आफ्नै दैलो भित्र अचानो भैरहे !!

नारीहरु आँसु झारीरहे,
कहिले प्याजको बहानामा,
कहिले धुँवा त कहिले धुलोको
बहानामा,
आफैं नम्र कोमल भएर पनि हरदम
अपमानको आँसु पिएर
धर्ती संचित गरीरहे !!

समयको चक्र
पश्चात् साँच्चैको खलनायक
जब उभिन्छ ईश्वरको कठघरामा,
तिनै तिरस्कृत पात्रको हातबाट
पिउनु पर्छ,
अन्तिम घुट्को जल,
बालिनु पर्छ अन्तिम दियो,
उभिनु पर्छ अन्तिम छाँया ,
सुन्नु पर्छ अन्तिम बिदाईका शब्द,
त्यस बखत आँसु सापटी
माग्न नपरोस् पितृसत्ताको
डडेल्लो भित्र कोमलतालाई आगो लगाउने
नायक नायिकाहरुको बृहत् सभामै
डडेर राप भएका
मृत मातृशक्तिहरुबाट ।।


सुशिला शर्मा शिलु