रम्बास कविता
काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका छानिएका रचनाहरू समेटिएको पुस्तक सङ्ग्रह सार्वजनिक गरिएको छ। ‘पुष्पलालका छानिएका रचना’ शीर्षकमा प्रकाशित यस सङ्ग्रहमा उहाँका वैचारिक, राजनीतिक र ऐतिहासिक लेखनहरू समेटिएका पाँचवटा पुस्तक समावेश छन् । सङ्ग्रहमा पुष्पलालका रचनाका चार खण्ड तथा नेपाल कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहाससम्बन्धी एक पुस्तक गरी कुल पाँच पुस्तक समावेश गरिएको छ। यी सबै पुस्तकहरू एकै बन्डलमा प्रकाशित गरिएको हो, जसको मूल्य ३ हजार तीन सय २० रुपैयाँ तोकिएको छ। पुस्तकको प्रकाशन लिपि बुक्सले गरेको हो ।
प्रकाशक लिपि बुक्सका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले पुष्पलाललाई सिद्धहस्त लेखक, दार्शनिक तथा दूरदर्शी राजनेताका रूपमा स्मरण गर्दै नेपाल कम्युनिष्ट आन्दोलन र समग्र नेपाली राजनीतिमा उहाँले पु¥याउनुभएको योगदान अमूल्य रहेको बताउनुभयो । भावी पुस्ताका लागि ऐतिहासिक दस्तावेजका रूपमा पुष्पलालका सम्पूर्ण कृतिहरूलाई एउटै बन्डलमा प्रकाशन गरिएको अधिकारीले जानकारी दिनुभयो ।
“कम्युनिष्ट आन्दोलन र नेपालको राजनीतिमा पुष्पलालले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँका सबै पुस्तकहरू एउटै सङ्ग्रहमा समेटेर सार्वजनिक गरेका हौँ,” अधिकारीले भन्नुभयो, “यो सङ्ग्रह भावी पुस्ताका लागि महत्त्वपूर्ण दस्तावेज बन्ने विश्वास लिएका छौँ ।” उहाँका अनुसार यो पुस्तक सङ्ग्रह नेपाली पाठकहरूका साथै राजनीतिमा चासो राख्ने व्यक्ति, राजनीतिक रिपोर्टिङमा संलग्न पत्रकार, अनुसन्धानकर्ता तथा अध्येताहरूका लागि विशेष रूपमा उपयोगी हुनेछ। पुष्पलालका विचार, लेखन र राजनीतिक दृष्टिकोण बुझ्न चाहने सबैका लागि यो सङ्ग्रह मार्गदर्शक बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
पुस्तकहरूको संकलन तथा सम्पादन पुष्पलाल अध्ययन समाजले गरेको हो। समाजले पुष्पलालका विभिन्न कालखण्डका लेख, दस्तावेज तथा ऐतिहासिक सामग्रीलाई व्यवस्थित रूपमा प्रस्तुत गर्दै उहाँको वैचारिक योगदानलाई अभिलेख गर्ने प्रयास गरिएको जनाएको छ । ‘पुष्पलालका छानिएका रचना’ को प्रकाशनले नेपाल कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमि बुझ्न र नेपाली राजनीतिक चिन्तनको विकासक्रम अध्ययन गर्न महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ ।
